मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर ‘लेबल’ हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन् । लेबल ख्याल नगरी कतिपय उपभोक्ताले बजारमा पाइने खानेकुरा उपभोग गरिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको विज्ञको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीले कुनै पनि खाद्य पदार्थ खानयोग्य छ-छैन भनेर उपभोक्ताले खानुअघि लेबल हेर्नुपर्ने बताए । उपभोक्ताले ताजा एवं सुरक्षित खानेकुरा हो÷होइन जाँच गरेर मात्र खानेकुरा खानुपर्ने उनको भनाइ छ ।
“तपाईंले खाने खाना के सुरक्षित एवं स्वस्थ्यकर छ ? खानामा कुनै अखाद्य वस्तु मिसाइएको पनि हुनसक्छ । यस्तो खानाको उपभोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पु-याउँछ भन्ने कुरा उपभोक्तामा जानकारी हुनु जरुरी छ”, पुलामीले भने । चाहिने मात्राभन्दा बढी चिल्लो पदार्थ ‘तेल, घीउ’ प्रयोग गरेर पकाइने खाना नियमित उपभोग गर्ने बानी परेका मानिसमा कोलस्ट्रोल र हृदयघातको समस्या हुनसक्ने पुलामीले बताए । ‘आलीदेखि थाली’ सम्म खाद्य स्वच्छता कायम गर्न सके मानव स्वास्थ्य पनि स्वस्थ हुने उनको भनाइ छ ।
“पछिल्लो समय बाली उत्पादन गर्दा आली ‘खेत’ मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने रासायनिक मल तथा विषादीको जथाभावी प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । यस्ता रासायनिक विषादीबाट खानेकुरामा मिसिने दूषित तत्वले खानालाई पनि दूषित वा अखाद्य बनाइदिन्छ”, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पुलामीले भने । यसबाहेक ट्रान्स फ्याट ‘औद्योगिक रुपमा वनस्पति घीउ तयार गर्दा बन्ने घीउ’ नियमित सेवनले मानव स्वास्थ्यमा प्रतिकूल असर पु-याउने उनले जानकारी दिए ।
खानेकुरामा भएको चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा बढी चिल्लो पदार्थ आफूले खाने खानामा हुनुहुँदैन भन्दै पुलामीले ट्रान्स फ्याटको मापदण्ड सरकारले तोकेअनुसारको हुनुपर्ने बताए । कच्चापदार्थ, उद्योग र आयात, निर्यात हुने स्थानबाट पनि खाद्य वस्तुमा दूषित तत्व मिसिएर आउने भएकाले प्रभावकारी नियमन र निगरानी गर्नुपर्नेमा उनले जोड दिए ।
खाद्य स्वच्छताका बारेमा अधिकांश उपभोक्तामा पर्याप्त चेतनाको अभाव हुँदा खाद्य स्वच्छता कायम गर्न चुनौती देखिएको जनस्वास्थ्यविद्को भनाइ छ । सहर बजारमा यत्रतत्र पाउने कतिपय तयारी खाद्य पदार्थमा अखाद्य पदार्थ मिसिएको हुन्छ । बिक्रीवितरण हुने गरेका कतिपय खाद्य पदार्थमा मिसावट गर्ने गरिएको पाइन्छ । यस्ता खानाको गुणस्तर जाँच वा खाद्य स्वच्छता भए-नभएका बारेमा अनभिज्ञ उपभोक्ताले यस्ता खानेकुरा उपभोग गरिरहेका हुन्छन् ।
पहिलेको तुलनामा खाद्य पदार्थको विषयमा उपभोक्तामा चेतना अभिवृद्धि भएको खाद्य अनुसन्धान अधिकृत पुलामीले दाबी गरे । “एक दशक अघिको तुलनामा खाद्य पदार्थमा हुने अखाद्य वस्तुको मिसावट घट्दो क्रममा छ । पहिले १४-१५ प्रतिशत रहने मिसावट अहिले छ-सात प्रतिशतभन्दा कम नै देखिन्छ,” उनले भने, “नियमनकारी निकायको पहुँच सबैतिर बढ्दै जाँदा उपभोक्ता र व्यवसायी पनि पहिलेको भन्दा सचेत भएको देखिएको छ ।”
सरकारले हालसम्म झन्डै एक सय ४० वटा खाद्यवस्तुको अनिवार्य मापदण्ड तोकेको छ । सबैभन्दा बढी खाद्यान्न, दलहन तथा सोबाट बनेका २९ वस्तुको मापदण्ड तोकिएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पुलामी जानकारी दिए । उनका अनुसार दूध तथा दुग्धजन्य पदार्थका २२, मसला, फल, सागपात, तेल तथा घीउ, नुन, गुलियो पदार्थ, प्यकिङ गरिएको पिउने पानी लगायतको पनि मापदण्ड तोकिएको छ । खाद्य वस्तुको व्यापार संसारभरि फैलिँदा खाद्य स्वच्छताको चुनौतीसँगसँगै अवसर पनि देखिएको बताए ।