
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको तयारीको कामलाई तीव्र पारेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन नियमावली अनुसार आन्तरिक गृहकार्यलाई तीव्र पारेको आयोगले जनाएको छ । मतदाता नामावली संकलनलाई रोकेर त्यसलाई अद्यावधिक गर्ने काम गरिरहेको आयोगले निर्वाचनका लागि चाहिने सामान्यदेखि संवेदनशील गरी करिब ६० प्रकारका सामग्री खरिदको तयारी थालेको छ । त्यसका लागि बजेटलाई अन्तिम रुप दिन लागिएको आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना र जिल्लाहरुमा जनशक्तिको विवरण लिने काम समेत गरिहेको जनाएको छ । अहिले भइरहेका सबै कामहरु पूरा गरी एकसाता भित्र निर्वाचन कार्यतालिका सार्वजनिक गरिने आयोगको भनाइ छ । अहिले स्थानीय निर्वाचनका लागि कार्यविधि र निर्देशिकाको काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अन्तर्गत कार्यविधी, बजेट तर्जुमा, दल दर्ता, मतदाता नामवली, उम्मेदारी दर्ता, निर्वाचन अधिकृत नियुक्ति लगायतका विषय समेटिनेछन् । यसपटकको निर्वाचनमा करिब एक करोड ८० लाखभन्दा बढी मतदाता रहने आयोगको अनुमान छ ।