
काठमाडौं । संशोधन विना एमसीसी पारित गर्न नहुने अडान राख्दै आएको नेकपा एकीकृत समाजवादीले आज एमसीसीका विषयमा खुला वहस गर्ने भएको छ ।
सत्ताबाट बाहिरिन परे पनि यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने एकीकृत समाजवादीको अडान छ । त्यसैले एकीकृत समाजवादी निकट भातृ संगठन र जनवर्गीय संगठनहरुले एमसीसीको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएको छ । आम जनता समेत एमसीसीका विपक्षमा रहेकोले संसदमा हुने एमसीसीको मतदानमा विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीले निर्णय गरिसकेको छ ।
‘हाम्रो आन्दोलन विचारको आधारमा हुने हो, जनदबाबका आधारमा हुने हो । यसैले एमसीसीको विपक्षमा मतदान गर्छौं,’ एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलले बताउनुभयो । एमसीसीबारे आम जनतासँगै बसेर छलफल गर्ने उदेश्यले आज दिनको २ बजे प्रज्ञा प्रतिष्ठानको डबलीमा एमसीसीबारे खुला वहस कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।
एमसीसीविरुद्धको सभामा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, लिलामणी पौडेल, डा सूर्यराज आचार्य, डा खगेन्द्र प्रसाईं लगायतका नेताहरुले सम्बोधन गर्नुहुने भएको छ ।