
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसदमा राष्ट्रिय स्वाधीनता र हितको पक्षमा रहेर आफूले एमसीसीको विरुद्ध बोलेको बताउनुभएको छ । नेता रावलले सामाजिक सञ्जालमार्फत आफूले संसदमा बोल्दा पार्टी नेतृत्वले असन्तुष्टि पोखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै आफूले हिरो बन्न नभई राष्ट्रिय स्वाधीनता र हितको पक्षमा संसदमा बोलेको जिकिर गर्नुभएको छ ।
जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोलेको बताउँदै उहाँले हिरो हुन नखोजेको उल्लेख गर्नुभएको छ । बताएका ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ ।’
रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने बताउँदै लेख्नुभएको छ ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’ प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुनेक्रममा रावलले चर्को असन्तुष्टि पोख्नुभएको थियो ।