
झापा । अर्जुनधाराबाट २० बर्ष दाम्लोेमा बाँधिएका एक युवकको उद्धार गरिएको छ । मेची अभियानको सक्रियतामा मानसिक सन्तुलन गुमाएका एक युवकको उद्धार गरिएको हो ।
अर्जुनधारा नगरपालिका–१का २६ बर्षीय रोशन ढुङ्गेललाई अभियानले उद्धार गरेको हो । उनलाई उपचारका लागि सोमबार नै वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको अभियानका सदस्य कौशल भण्डारीले बताए ।
सामान्य अवस्थामै जन्म भएका ढुङ्गेल २ बर्षको हुँदा बिरामी भएका थिए । त्यसबेला उपचार गरिएन । धामी झाँक्रीको भर परियो, ढुङ्गेलका बाबु दुर्गाप्रसादले भने– ‘पछि बिराम त जाति भयो, तर यस्तो खालको समस्या उत्पन्न भयो ।’ दुर्गाप्रसादले २ बर्षको उमेरदेखि रोशनको बोली हराएको र अस्वाभाविक हाउभाउ देखाउन थालेको बताए ।
अत्यन्त निम्न आर्थिक अवस्था भएका ढुङ्गेल परिवार बिरामीको उपचार गराउन शहरका अस्पताल लान सक्ने अवस्थामा छैन । बाबु दुर्गाप्रसाद गाउँकै एउटा किराना पसलमा ज्याला मजदुरीको काम गर्छन् । त्यहाँबाट आएको तलबले उनको घरको गर्जाे टरेको छ । गाउँमै टाउको लुकाउने सानो झुपडी र त्यो झुपडीले ओगटेको जमिन ढुङ्गेल परिवारको सम्पत्तिको नाममा सर्वस्व हो ।
दुई छोरी र एकछोराका बाबु ढुङ्गेल सन्तानमध्येको जेठो छोराको यो अवस्थाबाट झन पीडित छन् । छोराको उपचार गर्नुभन्दा उसको गोठालो गर्न उत्तम सम्झेर दाम्लोेले बाँधेर राखिएको पीडा उनले सुनाए । अली भरपर्दाे अस्पतालमा उपचार गर्न रकम अभाव भएको हुँदा उनले अस्पताल लाने प्रयास नगरेका हुन् ।
अर्जुनधारा नगरपालिकाले उपचारमा लानका लागि एम्बुलेन्स निःशुल्क उपलब्ध गराएपछि मेची अभियानले उनको उद्धार गरेर अस्पताल लगेको हो । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पनि निःशुल्क उपचार गर्ने भएपछि रोशनले नयाँ जिन्दगी पाउने आशा पलाएको बाबु दुर्गाप्रसादले बताएका छन् ।