
झापा, २५ फागुन
सरकारले तोकेको भाडा दर कार्यान्वयन गर्न नसक्दा मालबाहक ट्रक व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन् । सरकारी निकायको बेवास्ताका कारण ट्रक व्यवसायी पलायन हुने अवस्थामा पुगेपछि स्वस्फुर्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
सरकारले सामान ढुवानी गरेवापत तोकेको भाडादर कार्यान्वयन नगराएको र भारतिय मालबाहक सवारीसाधनले मनपरी दरमा सामान ढुवानी गरेको भन्दै झापाका ट्रक ब्यवसायीले आन्दोलन शुरु गरेका छन् । उनीहरूले बिहीबारदेखि ट्रकमा सामान लोड गर्न छोडेर ग्यारेजमै थन्क्याउने बताएका छन् । सरकारले डिजेल प्रतिलिटर ८० रुपैयाँ हुँदा भाडा दर तोकेको र अहिले डिजेलको प्रतिलिटर १३० रुपैयाँ पुग्दा पनि भाडादर नवढाएको साथै आफैले तोकेको शुल्क समेत कार्यान्वयन नगरेको ट्रक यथास्थानमै थन्क्याउने अवस्थामा पुगेको ब्यवसायीले बताए ।
व्यवसायी रामकुमार लिम्बुले सरकारले तोकेको भाडा दर नै कार्यान्वय हुन नसकेको बताए । लगातार डिजेलको मूल्य बढ्दा अप्ठेरोमा परेको उनको भनाइ छ । ‘हामी त ट्रक बेच्ने अवस्थामा पुग्यौँ,’ उनी भन्छन्, ‘कि सरकारले सरकाले भाडादर हेरिदियोस् । कि त चाबी लिओस् ।’ सरकारले भाडा दर हेरफेर नगरेसम्म बिहीबारदेखि ढुवानीका ट्रक नचल्ने उनले बताए ।
ढुवानीका विदेशी ट्रकका कारण समस्या भएको ट्रक व्यवसायी राम राई बताउँछन् । ‘सरकारले भारतीय ढुवानीका सवारीलाई भन्सारदेखि अरू ठाउँ जान दिनु भएन । भारतीय ढुवानीका साधनले हामीले काम पाएनौँ,’ उनी भन्छन्, ‘भारतीय सवारीले सप्तरी, सिरहादेखि इँट्टा पनि लिएर आउँछन् । उनीहरूले ३१ टनसम्म बोक्दा पनि ट्राफिकले केही गर्दैन । हामीले ३० हजारसम्म जरिवाना तिरेका छौँ ।’
ट्रक व्यवसायीले पाउनेभाडा भन्दा धेरै ढुवानीको खर्च उठ्ने गरेको ट्रक व्यवसायी तुलसी ढकाल बताउँछन् । जसका कारण घरजग्गा बेच्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ छ । ‘एकपटक काठमाडौँ जाँदा भाडा ६० हजार आउँछ । तर, खर्चचाहिँ ९० हजारसम्म हुन्छ । ६० हजारको त तेल नै लाग्छ,’ उनी भन्छन्, ‘इन्डियन गाडी रोकन भने हामी ट्रक राख्न सक्दैनौँ । भारतीय गाडीलाई भन्सारबाटे फर्काइनुपर्छ ।’
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै भाडा दर पनि बढाउनुपर्ने व्यवसायी तेजप्रसाद लामिछाने बताउँछन् । ‘तेलको मूल्य बढ्दा भाडा बढाइनुपर्छ । नभए महँगोको तेल लगाएर सस्तो भाडाको सामान बोक्न सक्दैनौँ,’ उनी भन्छन्, ‘भाडा बढाएर मात्र हुँदैन । कार्यान्वयन पनि गर्नुपर्छ ।’
भाडा दर कम हुँदा ट्रकले पाएको बेलामा क्षमताभन्दा धेरै सामान बोक्नुपर्ने बाध्यता छ । तर, ट्राफिकले बारम्बार दुःख दिने गरेको ट्रक चालक उमेश चौधरी बताउँछन् । ‘भाडा नै कम्ती छ । खर्च गरेर कसरी थोरै पैसा भए पनि बचाएर साहुलाई दिनु भन्ने हुन्छ,’ उनी भन्छन्, ‘पाएको बेलामा अलिक धेरै सामान बोक्छौँ । ट्राफिकले चिट काट्ने भन्दै दुःख दिन्छ । कहिलेकाहीँ त एकै ट्रिपमा दुईपटकसम्म चिट काट्नुपर्छ ।’
सरकारलाई पटकपटक ध्यानाकषएण गराउँदा पनि बेवास्ता गरेपछि आन्दोलित बन्नुपरेको ट्रक व्यवसायीको भनाइ छ । ट्रक व्यवसायी प्रभातभूषण दाहालले बिहीबारबाट मालवाह सवारी बन्द गर्ने बताए ।
मालवाहक ट्रकले १० टन मात्र सामान ढुवानी गर्न पाउँछ । यातायात व्यवस्था विभागले ७ असोज ०७५ देखि तोकेको भाडा दरअनु्सार तराईमा प्रति किलोमिटर ४ रुपैयाँ ८८ पैसा र पहाडमा ९ रुपैयाँ ९५ पैसा लिन पाउनेछन् । तर, यो दर कार्यान्वयन नहुँदा जथाभावी भाडा लिने गरेका छन् । जसका कारण घाटा खाएर भए पनि नेपाली ट्रक व्यवसायीले ढुवानी गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।