
काठमाडौं । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिनुभयो । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ ।
तर दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको खतिवडाले बताउनुभयो । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ । गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा सत्तारूढ अर्को दल नेकपा (माओवादी केन्द्र) को पनि जोड छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा गठबन्धनबारे सकारात्मक छन् । गठबन्धनविरुद्धमा उभिएका पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्न देउवाले निर्देशनसमेत दिइसकेका छन् । तर, गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित छैन ।
कांग्रेस नेतृत्वमा रहेको वर्तमान पाँच दलीय गठबन्धन ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बनेको हो ।