
पोखरा, राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९३ प्रतिशत पूरा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले भने , ‘‘वैशाखमा उडान परीक्षण गर्ने लक्ष्य छ । असारमा हस्तान्तरण गर्नेगरी काम अगाडि बढेको छ ।’’
अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको यो क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडानबाटै सुरु गर्ने र त्यसपछि अन्तर्राष्ट्रिय उडानका लागि समन्वय र सहकार्य गर्ने योजना रहेको उनले जानकारी दिए ।
पोखराका लागि हाल सिमरा, वीरगञ्ज र चीनबाट गरी हाल तीनवटा मात्र हवाई रुट पर्न आउने उनले बताए । विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगे पनि केही पूर्वाधार, सुरक्षा र मापदण्ड भने अझै पूरा हुन सकेको छैन् ।
विमानस्थलको दक्षिणतर्फ रहेको रिठेपानी डाँडा कटान, ल्यान्डफिल साइटको व्यवस्थापन र बर्खाको भेलबाढी तर्काउने संरचना निर्माण भने अझै हुन सकेको छैन । विगतमा पटकपटक म्याद थप गरिएको यो आयोजनाको काम सक्नुपर्ने समय आगामी असार २५ गते तोकिएको छ ।