
झापा। आदर्श माध्यमिक विद्यालय मेचीनगर–८ की शिक्षक प्रतिमा चापागाईँ ‘‘पवित्रा–भेषराज खतिवडा स्मृति सर्वोत्कृष्ट शिक्षक पुरस्कार २०७८” द्वारा पुरस्कृत हुनुभएको छ। शनिबार चापागाईँलाई शिक्षा क्षेत्रको विकास र गुणस्तरको लागि उत्कृष्ट काम गरेको भन्दै पवित्रा–भेषराज खतिवडा स्मृति पुरस्कार २०७८ ले पुरस्कृत गरेको हो ।
झापाको बुद्धशान्तिमा रहेको प्रतिष्ठानले शनिबार एक कार्यक्रमको आयोजना गरी पवित्रा–भेषराज खतिवडा स्मृति सर्वोत्कृष्ट शिक्षक पुरस्कार २०७८द्वारा चापागाईँलाई सम्मान तथा पुरस्कृत गरेको हो । प्रतिष्ठानले चापागाईँलाई नगद १० हजारसहित सम्मान तथा पुरस्कृत गरेको छ । इलामको इरौँटार तथा झापा निर्वाचन क्षेत्र नम्बर १ मा अवस्थित सामुदायिक विद्यालयहरु मध्येमा विद्यालयको चौतर्फी विकास एवम् गुणस्तरीय बनाउन योगदान दिने सर्वोत्कृष्ट शिक्षकलाई प्रतिष्ठानले पुरस्कृत गर्ने गरेको प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले जानकारी दिए ।
चापागाईँ २०६० सालबाट शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । इलामको लोक्साङस्थित पूर्णज्योति प्राविबाट शिक्षण आरम्भ गरेकी चापागाईँ सत्यनारायण प्रावि इलाम, सिद्धेश्वरी आधारभूत विद्यालय बरबोटे इलाम हुँदै पछिल्लो दुई बर्षदेखि मेचीनगर–८ स्थित आदर्श माविमा अध्यापनरत हुनुहुन्छ।