
झापा । स्थानिय तहको निर्वाचनको सरगर्मी सबै तिर छ । जनप्रतिनिधिहरु मतदाताको घर घरमा गई भोट मागिरहेका छन् । भोट माग्ने क्रममा सबैले जनताको घर आगनमा गएर भोट माग्ने, विभिन्न चुनावी गीतहरुमा नाच्ने र आफ्ना प्रतिबद्धताहरु राख्ने गरिरहेका छन् । तर, झापाको मेचीनगर ४ बाहुण्डाँगीमा भने पृथक शैलिमा भोट माग्दै एमालेका उम्मेद्वारहरु भोट मागिरहेका छन् ।
लामो समयदेखि प्रकृति संरक्षण, पर्यावरण सन्तुलत तथा संस्कृतिको जगेर्णामा लागिरहेका अर्जुन कुमार कार्की यस निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वारको रुपमा अघि आएका छन् । ग्रामिण पर्यटन, घरबास, रैथाने संस्कृतिको संरक्षण तथा मानवहात्ती सम्बन्धका विषयमा आफ्नो जीवनको उर्जाशिल समय खर्च गरेका उनी आफ्नै गाँउ उदाहरणीय बनाएर दुनियाँमाझ लैजाने प्रतिवद्धता सहित चुनावमा होमिएका छन् ।
अरु प्रतिनिधिहरुले पनि भोट नै मागिरहेका छन्, तर अर्जुन कार्कीको टिमले भोट माग्दा केही न केही नयाँ र पृथक कुरा गरेर जनतासामु पुगिरहेको पाईएको छ । हक्की स्वभावका कार्की विगतमा बाहुण्डाँगीवासीको धेरै अप्ठ्यारा र असजिला कामहरु गरिदिने, पिडितको पक्षमा बोलिदिने तथा न्याय सम्पादनमा राम्रो भुमिका खेल्ने व्यक्तिको रुपमा समेत परिचित छन् । चुनावी दौरानमा उनले बाटोमा हिडिरहेका गन्धर्वहरुलाई बोलाएर गित गाउन लगाँउदै भोट माग्छन् त कहिले शंख फुक्दै हिडेका जोगीहरुसँग आफ्ना प्रतिवद्धताहरु फलाक्न लगाउँछन् ।
सिर्जनात्माक चेतका साथ चुनावमा मत माग्दै हिड्ने कार्कीको टिमसँग ‘‘वालवालिकामा चेतना, युवामा सृजना र बुडापाकामा सन्तोष” भन्ने नारा छ । जसले आगामी दिनहरुमा गर्ने कामहरुको विषयमा जानकारी समेत दिन्छ ।
मत माग्ने क्रममा मेचीनगर नगरपालिकाको विभिन्न गाँउमा पृथक र पुख्र्यौली शैली प्रयोग गरी हिडिरहेका उम्मेद्वारहरुसँगै नेकपा प्रदेश नं. १ का सदस्य निलकण्ठ तिवारी, जिल्ला सदस्य निर्मला गौतम, चुनाव प्रचारप्रसार समिति संयोजक प्रविण भण्डारी, वडा नं ४ एमाले अध्यक्ष तीर्थ नेपाल तथा जनसंस्कृती समितिका हेम श्रेष्ठ लगायतका नेताहरु पनि कार्कीको टिमको पक्षमा भोट मागिरहेका छन् ।