विराटनगर / बङ्गालको खाडीबाट उत्पन्न भएको यास चक्रवातको प्रभावका कारण नेपालमा औषतभन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा चक्रवात ‘यास’ आएको हो । नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली विरलै विकसित हुने बताइएको छ । मौसमविद्ले प्रि–मनसुन अवधि मेमा आएका यी दुवै चक्रवात प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छन् ।
मौसमविद् मणिरत्न शाक्यले दुई सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि परेको जानकारी दिए । ताउ–तेबाट पश्चिमी र पूर्वी क्षेत्र बढी प्रभावित भएका छन् । मङ्गलबारदेखि पूर्व र मध्य क्षेत्रमा वर्षा जारी छ । योक्रम शनिबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा यास चक्रवातको प्रभावका कारण मनसुनी वर्षा विगतभन्दा बढी हुने अनुमान गरिएको शाक्यले बताए । उनका अनुसार बुधबार राति प्रदेश १ को एकदुई स्थान, बिहीबार राति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
ताउ–ते सकिएलगत्तै आएको यास चक्रवातको प्रभाव नेपालमा परिरहेको छ । यो प्रभाव पश्चिम सर्नेक्रममा रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।
कहिलेकाहीँ यस्ता चक्रवातले मनसुनमा प्रभाव पार्ने गर्छन् । जसकारण मनसुन ढिलो वा चाँडो सुरु हुने गर्छ । तर, अहिले नै मनसुन आगमनबारे निष्कर्ष निकाल्न नसकिने मानन्धरको भनाइ छ ।
सन् १९९१ देखि सन् २०२० सम्मको अवधि हेर्ने हो भने नेपालमा मनसुन सुरु हुने औसत अवधि १३ जुन र मनसुन बाहिरिने औसत समय २ अक्टोबर देखिन्छ । यसअघि १० जुनमा मनसुन सुरु हुने र २३ सेप्टेम्बरको अवधि मनसुनी मानिँदै आएको थियो ।कोशी अनलाइनबाट