
काठमाडाैं । स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको उहाँको भनाइ थियो ।
आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य शुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।