
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार नेपाल आउनुहुने भएको छ ।
भारतीय प्रधानमन्त्रीको रुपमा मोदी पाँचौं पटक नेपाल आउन लाग्नुभएको हो । सोमवार ६ घण्टाका लागि आउन लाग्नुभएका मोदी सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कनुुहुने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उहाँ नेपाल आउन लाग्नुभएको हो । प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमवार विहान एघार बजे लुम्बिनी आउनुुहुने कार्यतालिका छ ।
हेलिकप्टरबाट सिधै उहाँ मायादेवीको मन्दिर जानुुहने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । साढे ११ बजे मोदी त्यहीं आयोजना गरिने भूमी पुजा कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उहाँ लुम्बिनीमा रहेको पवन इन्टरनेसनल होटलमा जानुुहनेछ । केही समय उहाँले त्यही होटलमा बिताउने कार्यक्रम छ । होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक त्यहीं सुरु हुनेछ ।
बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ । दिवा भोजमा सहभागी भएपछि मोदीले त्यहाँ केही उच्चस्तरीय व्यत्तिहरुसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।
सोमबार साढे तीन बजे उहाँले बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँ बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने जनाइएको छ ।