युनिकोड    राशिफल    एफएम रेडियाे                        

झापा, जेठ ९ । झापा बाहुण्डाँगीको हात्ती समस्या अहिलेको होईन । वि.सं. २०३० सालदेखि हालसम्म मानव हात्ती द्वन्द्व निरन्तर चलिरहेको छ । हात्ती समस्या सुल्झाउन अनेकौँ प्रयास पनि भयो । पहिले उपायहरुले काम गर्ने तर विस्तारै हात्ती अभ्यस्त बन्दै जाने कारण समस्या झन्झन बढ्दो अवस्थामा छ । मावन हात्ती द्वन्द्वको कारण धेरै जनाको ज्यान समेत गएको छ । त्यस्तै हात्तीहरु पनि मारिएका छन् । निको नहुने घाउ जस्तै बनेको हात्ती समस्या समाधानको निम्ती धेरै यत्नहरु हुँदै आईरहेकै छन् ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन गर्न र हात्तीसँग स्थानियहरुको मैत्री सम्बन्ध बनाउन फेरी नयाँ पहल थालिएको छ । हात्तीलाई पर्यटनसँग जोड्ने । हात्ती र स्थानियहरु विचको सम्बन्ध हुनुपर्छ भन्दै धेरै वर्ष अघिबाट नै भनिदैँ आए पनि हालसम्म खास ठोस काम भएको थिएन । कामहरु भएपनि पर्यटनसँग जोडिन देखिने गरीको पहल शुरु भएको हो ।


गत आईतबार साँझ झापा बाहुण्डाँगीको आलडाँगीबाट पूर्व भारतको सिमानामा मानिसहरुको भिड थियो । भिड अरु कुनै कारण नभई हात्ती हेर्ने र धपाउनको लागि भेला भएको थियो । त्यसो त बाहुण्डाँगीमा साँझ परेपछि स्थानियहरु हात्ती धपाउन भेला हुने नौलो कुरा होईन । तर, आईतबार हात्ती धपाउने भिडमा स्थानिय मात्र थिएनन् । फ्लोरिडा विश्व विद्यालयका ब्रिजेस थापा, इसिमोड मार्फत कम्युनिटि होमस्टे नेटवर्कका प्रतिनिधिहरु, पत्रकार र नवनिर्वाचित जनप्रतिनिधिहरु पनि उक्त भिडमा सँगै थिए । भारत तिरबाट आउने हात्तीलाई नेपाल प्रवेशमा रोक्न सोलार तारबार लगाईएको छ । उक्त तारबार लगाउन मुख्य भूमिका ब्रिजेस थापाको थियो । प्रसाद गौडा भनेर चिनिने उक्त सिमा क्षेत्रमा मानिसहरु भेला हुदैँ गर्दा एक जंगली हात्ती पनि मेचीको बगरमा आइपुग्यो । स्थानिय युवाहरुले उक्त हात्तीलाई पुनः भारतको जंडलतर्फ लखेटे र टोली मेचीनगर ४ को आलडाँगीमा फर्कियो ।


हात्ती हेरेर आलडाँगी फर्केका पाहुँनालाई झापाली गन्धर्वहरुले ‘‘जता हेरे पनि हजुर पूर्वैै रमाईलो” भन्ने गीतमा भाका हाल्दै स्वागत गरे । स्थानिहरुले उनिहरुको भाकासँग आवाज मिलाउदै गाए, नाचे । आलडाँगीमा सानो औपचारिक कार्यक्रम समेत आयोजना भयो । कार्यक्रममा ग्रामिण पर्यटनका अभियानता तथा नवनिर्वाचित वडाध्यक्ष अर्जुन कुमार कार्कीले हात्ती समस्यालाई बोझको रुपमा नलिएर यसलाई मोजको माध्यम बनाउन गरिनुपर्ने विभिन्न योजना सुनाए । त्यस्तै स्थानिय युवा मिनेस सापकोटाले बाहुण्डाँगीमा गर्न सकिने विभिन्न सम्भावनाहरुको विषयमा बोले । उनीहरु दुवैले ग्रामिण विकासमा पर्यटनको महत्व, घरवासको सम्भावना तथा युवा रोजगार र चेतनाको विभिन्न प्रस्तावहरु समेत राखे ।

कार्यक्रमको एक छेउमा देहि आर्टका छितेन शेर्पा र उनको टिमले लाइभ पेन्टिङ्ग गरिरहेका थिए । उनीहरुले व्रिजेस थापा, सारंगीधारी गन्धर्वहरु साथै कार्यक्रमको प्रत्यक्ष चित्र कोरे । चित्रको माध्यमले समेत स्थानिय संस्कृती र सम्पदाहरुको प्रचार प्रसार गर्न सकिने र यसले पर्यटनमा टेवा पुर्‍याउने कुरा शेर्पाले गरे । त्यस्तै कम्युनिटि होमस्टे नेटर्वकका विजय तिम्सिनाले बाहुण्डाँगीमा होम स्टेको प्रचुर सम्भावना रहेको र उक्त कार्यको लागि अध्ययन भइरहेको बताए । फ्लोरिडा युनिभर्सिटीका प्राध्यपक व्रिजेस थापाले पनि विगतलाई सम्झदै आफ्ना भनइहरु राखे । उनले बाहुण्डाँगीको लागि विभिन्न कार्यक्रमहरु ल्याउन आफूँले सहयोग गर्ने कुरा व्यक्त गरे, साथै ग्रामिण विकासको लागि गरिएका कार्यक्रमहरुको प्रतिफल आउन समय लाग्ने कारण धै¥य भएर लागि पर्न समेत आग्रह गरे ।


ग्रामिण जीवनशैली, कृषि, हात्ती तथा पर्यावरणलाई केन्द्रविन्दुमा राखी पर्यटनको प्रचुर सम्भावनालाई मूर्त रुप दिन बाहुण्डाँगी वासी जनताहरुलाई प्ररित गरी स्थानिय विभिन्न जात जातीका कला, संस्कृति, संस्कार तथा चाड पर्वहरुलाई समेत प्रवद्र्धन गरी आम्दानीको स्रोतको रुपमा परिवर्तन गर्न अब यस्ता किसिमको कार्यक्रमहरु गर्ने र पर्यटकहरुलाई आकर्षित गर्ने मुख्य योजना रहेको वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९