
काठमाडौं । २०७८ फागुनसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । २०७८ असारसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको थियो ।
२०७८ फागुनसम्म कुल जडित विद्युत क्षमता २०७८ असारको तुलनामा ३०.९ प्रतिशतले वृद्धि भई २ हजार २ सय ५ मेगावाट पुगेको आर्थिक सर्वेक्षण २०७८/७९मा उल्लेख छ । २०७८ असारसम्म कुल जडित विद्युत क्षमता १ हजार ६ सय ८५ मेगावट रहेको थियो ।
अहिले जलविद्युतबाट २ हजार २२ मेगावाट, सौर्य प्लान्टबाट ४९.७६ मेगावाट, थर्मल प्लान्टबाट उत्पादित विद्युत ५३.४ मेगावाट, वैकल्पिक अर्जा प्रवर्छन केन्द्रबाट ७४ मेगावाट तथा चिनी मिलबाट सह-उत्पादन प्रविधि मार्फत ६ मेगावाट विद्युत उत्पादन भइहरको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत परियोजनाबाट ५८१ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित विद्युत परियोजनाबाट १ हजार ४ सय ४० मेगावाट राष्ट्रिय ग्रीडमा जडान गरिएको छ ।
२०७८ फागुनसम्म विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ५२ लाख२८ हजार (सामुदायिक संस्था बाहेक) पुगेको छ । सामुदायिक संस्था अन्तर्गत विद्युत् उपयोग गर्ने ग्राहकको संख्या करिव ५ लाख ८० हजार रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ४९ लाख ९३ हजार थियो । २०७८ फागुनसम्म राष्ट्रिय प्रसारण लाइन (६६ केभी र सो भन्दा माथि) ४ हजार ७ सय ९५ सर्किट किलोमिटर पुगेको छ भने वितरण लाइन -३३ केभी र सो भन्दा कम) १ लाख ६३ हजार २ सय २ किलोमिटर पुगेको छ ।
२०७७ फागुनसम्म प्रसारण लाइन -६६ केभी र सो भन्दा माथि) ४ हजार ५ सय ७३ सर्किट किलोमिटर तथा वितरण लाइन १ लाख ६७ हजार १९१ किलोमिटर रहेको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट ७५७ गिगावाटघण्टा विद्युत आयात भएको छ भने १८३ गिगावाटघण्टा बराबरको विद्युत निर्यात भएको छ ।
गत आर्थिक वर्षमा विद्युतको माग पूर्तिको लागि भारतबाट कुल २ हजार ८ सय २६ गिगावाटघण्टा विद्युत आयात भएको थियो । साथै, गत आर्थिक वर्ष ४४ गिगावाटघण्टा विद्युत निर्यात भएको थियो ।
२०७८ असारसम्म १ हजार ३ सय ८८ मेगावाट विद्युत उत्पादन क्षमता रहेकोमा २०७८ फागुनसम्म २ हजार २३ मेगावाट विद्युत क्षमता रहेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म १८ वटा विद्युत आयोजनाहरू सम्पन्न भई कुल ८४३ मेगावाट थप जलविद्युत उत्पादन हुने सर्वेक्षणमा उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुने ४३ वटा आयोजनाहरूबाट थप ७१३ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान छ ।