युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले १५औं गणतन्त्र दिवसको अवसरमा विद्यालयस्तरीय वक्तित्वकता प्रतियोगिता तथा नगरवासी सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

नगरपालिकाभित्रका ९ सामुदायिक विद्यालयका ११ विद्यार्थी सहभागी रहेको वक्तित्वकलामा आनन्द भैरव माध्यामिक विद्यलायकी छात्रा सतिस्मा खड्काले पहिलो स्थान हासिल गरिन ।

आनन्द भैरवकै विष्णु नेपालीले दोस्रो स्थान हासिल गर्दा गान्धी आदर्शका अर्जुन कोइराला तेस्रो भए । नेपाल राष्ट्र निर्माण उच्च माविकी प्रशंसा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

वक्तित्वकलातर्फ विजेता सतिस्माले आठ हजार पाँच सय रुपैयाँ, दोस्रो स्थानका विष्णुले चार हजार सात सय ५० रुपैयाँ र तेस्र्रो स्थानका अर्जुनले नगरपालिकाको तर्फबाट तीन हजार दुई सय ५० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सहभागी सबै विद्यार्थीले यातायात खर्च स्वरुप थप एक हजार रुपैयाँका दरले प्राप्त गरेका थिए । विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा र वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलगायतले पुरस्कृत गरेका थिए ।

सोही अवसरमा विभिन्न सञ्चार माध्यममा कार्यरत कागेश्वरी मनोहरा नगरपालिका निवासी सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । नवनिर्वाचित मेयर कार्कीले अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गर्दै सुसंस्कृति विकासको मोडल अपनाएर काम गर्ने प्रतिबद्धता जनाए । १५औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा मेयर कार्कीले स्वास्थ्य, शिक्षा र खेलकुद आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा रहने बताए ।

उनले नगरवासीमा सुशासनको प्रत्याभूति गराउँदै निम्न आय भएकालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि प्रष्ट पारे । ठूल्ठुला दीर्घकालिन योजनाहरुसँगै ससाना समस्या समाधानमा पनि नगरपालिका प्रतिबद्ध भएर लाग्ने उनले जानकारी गराए । नगरभित्रका सबैखाले ससाना समस्या समाधानका लागि ‘र्यापिड रेस्पोन्स टिम’ बनाएर अघि बढ्ने योजना उनले सुनाए ।

‘पक्कै पनि हामी दीर्घकालिन महत्वका ठूला योजनाहरुलाई प्राथमिकताका साथ अघि बढाउँछौं । तर त्योभन्दा पहिला नागरिकहरुले भोगिरहेका ससाना समस्या समाधानका लागि टिम बनाएरै काम सुरु गर्छौ । जनताले भोगिरहेका ससाना समस्याहरु गुनासो आएको २४ घण्टाभित्र समाधान गर्नेगरी अघि बढ्छौं,’ मेयर कार्कीले भने ।

‘हाम्रो योजना कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोट्र्स सिटीको रुपमा विकास गर्नुका साथै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै जनहितका कार्य गर्ने रहेको छ । त्यस्तै अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गर्ने र घर–घरमा शुद्ध खाने पानीको व्यवस्था गर्नु हाम्रो पहिलो प्राथमिकतामा छ,’ मेयर कार्कीले थपे ।

यसैगरी वडा अध्यक्षहरुको तर्फबाट बोल्दै नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयालले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै संवृद्ध नगर निर्माणमा हातेमालो गर्न सबैसँग आह्वान गरे ।

त्यस्तै नेपाली काग्रेस काठमाडौं क्षेत्र नम्बर दुईका सभापती कविर शर्मा फुयालले ससाना नानीहरुको वक्तित्वकला आयोजना गरेर वाल पुश्तामाझ गणतन्त्रको मर्म बुझाउन नगरपालिकाले गरेको प्रयास सराहनीय भएको प्रतिक्रिया दिए ।

उनले थपे, ‘तपाईहरुले कार्यकालको सुरुमै पत्रकारलाई सम्मान गरेर आफूहरु प्रश्नसँग नभाग्ने प्रतिबद्धता पनि गर्नुभएको छ । यो अत्यन्तै सकारात्मक कुरा हो । यही भावनाअनुसार पाँच वर्ष काम गर्नुहोला ।’

कागेश्वरी मनोहराका स्थायी वासिन्दाको हैसियतमा सम्मानित भएका वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीले सञ्चारकर्मीको धर्म नै आलोचनात्मक खबरदारी गर्ने रहेकाले त्यसबाट नआत्तिन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । भण्डारीले गणतन्त्रको मर्मअनुसार स्थानीय सरकारको भूमिका बुझेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाए ।

‘गणतन्त्रको गाडी हाक्ने चालकहरुले पहिला गाडी चलाउन सिक्नु पर्यो । यहाँको सबभन्दा ठूलो समस्या भनेको चालकहरुले गाडी चलाउन नजान्नु हो । तपाईहरुले पनि गणतान्त्रिक व्यवस्थाअनुसार आफ्नो भूमिका बुझेर काम गर्नुपर्छ,’ वरिष्ठ पत्रकार भण्डारीले भने, ‘त्यसमा हामीले केही सहयोग गर्नुपरे तयार छौं ।’

यसैगरी अर्का वरिष्ठ पत्रकार अजय फुयालले गणतन्त्र दिवसको शुभकामना दिँदै नगरपालिकाको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । नेतृत्वले गरेको सुसंस्कृत नगर बनाउने घोषणाप्रति खुसी व्यक्त गर्दै पत्रकार फुयालले पत्रकारमात्र नभई सम्पूर्ण नागरिकहरुले पूरा पाँच वर्षसम्म त्यसको निगरानी राखिरहने भन्दै नगरपालिकालाई सचेत गराए ।

‘आज नगरपालिकाले स्कुलका साना नानीहरुका लागि वक्तित्वकला प्रतियोगिता आयोजना गर्नुका साथै स्थानीय पत्रकारहरुलाई सम्मान गरेर राम्रो थालनी गरेको छ,’ फुयालले भने, ‘पत्रकार भनेको जवाफदेहिताको संवाहक हुन् । तपाईहरु जवाफदेही हुने प्रयासमा हुनुहुन्छ भन्ने यसले संकेत गरेको छ । पाँच वर्षपछि कार्यकाल सकिइरहँदा आज हामीलाई सम्मान गरेजस्तो काम मुल्यांकन गरेर हामीले तपाईहरुलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुहोस ।’

अर्का पत्रकार राधेश्याम दाहालले पत्रकारको हैसियतमा आगामी पाँच वर्षसम्म नेतृत्वलाई खवरदारी गरिरहने बताए । ‘हामीलाई पहिलो पटक नगरपालिकाले सम्झिएको छ । यसमा खुसी लागेको छ । तर पत्रकारलाई सम्मान गरेकै भरमा तपाईहरुका नराम्रा काम छोपिन्छ भन्ने नसोच्नुहोस । हामी आलोचनात्मक भइरहन्छौं,’ दाहालले सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९