
बिहीबार र शुक्रबार केन्द्रीय समिति र शनिबार स्थायी समिति सदस्यहरुबीच भएको छलफलपछि आइतबार १० बुँदे प्रस्ताव सार्वजनिक गर्दै खनाल नेपाल समुहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक गरेमात्रै अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने उल्लेख छ ।
सोही बुँदामा केपी ओलीका फुटपरस्त र गलत प्रवृत्तिका विरुद्ध जुझ्दै क्रान्तिकारी पार्टी पंक्तिको रक्षा र विकासका लागि ओली पक्षमा रहेका इमान्दार नेता र कार्यकर्ता लगायत नेकपा (एमाले) पंक्तिलाई खनाल नेपाल समुहले आह्वान समेत गरेको छ ।
सो समुहले आफुहरु पार्टीको एकता तथा सार्थक र परिणाममुखी वार्ताको पक्षमा भएपनि ओलीबाट गत फागुन २८ गते पार्टी विधान विपरीत गरिएको फुटपरस्त निर्णयपछि तीन महिना बित्न थालिसकेको भन्दै यस अवधिमा ओलीले नेपालको संविधान र पार्टीको विधान विपरीतका गतिविधि जारी राखेको उल्लेख गरेको छ ।
साथै, पार्टीमा एकता कायम गर्ने दिशामा उन्मुख हुनुको साटो अन्तरविरोध र विभाजन बढाउने काम कुरा गरेको अवस्थामा हामीले अघि सारेका कुराहरु तत्काल निश्चित समयावधिमा विश्वनीय रुपमा कार्यान्वयन हुनेगरी सहमति सार्वजनिक भएमात्र अध्यक्ष केपी ओली पार्टी एकताको पक्षमा रहेको ठहरिने जनाएको छ ।
‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूमा हार्दिक आह्वान गर्दछौं’ खनाल नेपाल समुहले भनेको छ ।
केन्द्रदेखि स्थानीय तहसम्म कथित स्पष्टीकरण, निलम्बन र निष्काशन लगायतका सबै कार्वाईहरु तत्काल खारेज गरिनुपर्ने भन्दै सो समुहले अन्यथा असंवैधानिक किसिमले प्रतिनिधि सभा विघटन गरी आमनिर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेकोस्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षडयन्त्रपूर्ण जालझेलमा अल्मलिनु नहुने स्पष्ट भएको जनाएको छ ।
‘नेपालको संविधान, पार्टीको विधान र कम्युनिष्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन्छ’, सो समूहले भनेको छ, ‘यसका लागि देशव्यापीरुपमा संगठनात्मक स्थितिलाई गुणात्मकरुपमा सशक्त किसिमले वडा र टोलसम्म अगाडि बढाउनुपर्छ ।’