
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । तीमध्ये २१ जनाको शव भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।
‘२१औंको शव खोँचमा च्यापिएको अवस्थामा भेटिएको छ, भोलि निकालिनेछ’ सहायक रथी सिलवालले भने, ‘थप एकजनाको शव चाहिँ लोकेट भएको छैन ।’ मंगलबार बिहानैबाट खोजी तथा उद्दार टोलीमार्फत बाँकी रहेको शवको पनि खोजी थालिने सिलवालको भनाइ छ ।
उनका अनुसार संकलन गरिएका मध्ये १० वटा शवलाई नेपाली सेनाको एआई १७ हेलिकोप्टरमार्फत सोमबारै काठमाडौं ल्याएको छ । ती शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा राखिएको छ । सिलवाल भन्छन्, ‘थप शवलाई पनि काठमाडौं ल्याएर पोष्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिनेछ ।’
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।