
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ ।
नागरिकता विधेयक अघि बढाउने शर्तमा लोसपा सरकारमा सहभागी हुन लागेको हो ।
लोसपा अध्यक्ष ठाकुरले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सरकारले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी हुने बताउनुभएको थियो ।
देउवाले पछिल्लो समय अध्यक्ष ठाकुरसँग निरन्तर सम्वाद गरिरहनुभएको छ । शनिबार ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । भेटमा उहाँले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको बताउनुभएको थियो ।
देउवाले आइतबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर नागरिकता विधेयक अघि बढाउने र लोसपाको माग सम्बोधन गर्ने विषयमा परामर्श लिनुभएको छ । देउवाले लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव गर्नुभएको छ । यसमा विषयमा लोसपाका शीर्ष नेताहरुसँग आज थप छलफल हुने भएको छ ।