
संखुवासभा । संखुवासभा र भोजपुर जोड्ने अरुण नदी तर्नका लागि निर्माणाधीन पुल शिलान्यास भएको ११ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
निर्माणाधिन उक्त पक्की पुल निर्माणको ठेक्का स्वच्छन्द निर्माण सेवाले लिएको थियो। तर सम्झौता भएको ११ वर्षमा पनि पुल निर्माण सम्पन्न नभएपछि ठेक्का तोडिएको छ। सडक डिभिजन तुम्लिङटारले यो ठेक्का तोडेको हो।
पाँच वर्षअघि भोजपुरका नागरिकहरूले सडक डिभिजन कार्यलय तुम्लिङ्टारमा ज्ञापन पत्र बुझाएका थिए।
भोजपुर र संखुवासभाको सीमाना भएर बग्ने अरुण नदी माथिको तुम्लिङ्टार लम्छुवा दिङ्ला जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि ठेक्का तोडेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०६८ साल मंसिरमा शिलान्यास भएको थियो। १४ करोड लागतमा पुल निर्माण कार्य दुई वर्ष अघि नै सम्पन्न हुनुपर्ने भएपनि राजनीतिक खिचातानीकै कारण पुलको डिजाईन परिवर्तन भयो भने लागत रकम बढेर २० करोड रुपैयाँभन्दा धेरै पुगेको छ ।
१ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिल्लर मात्रै उठाउने काम भएको छ।समयमै पुलको काम नसकिँदा स्थानीयहरू काठको डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।