युनिकोड    राशिफल    एफएम रेडियाे                        

झापा । मेची भन्सार कार्यालय परिसरमा पार्किङ गरी पार्किङ शुल्क समेत तिरेर भन्सारकै गेटबाट जाँचपास भई निस्कीएका रक्तचन्दनको बिरुवा र आलु बोकेका ३ वटा भारतीय मालबाहक ट्रकको प्रज्ञापनपत्र नक्कली साबित गरी कर छलीमा संलग्नलाई उन्मुक्ति दिलाउने प्रपन्च शुरु भएको छ । मेची भन्सार कार्यालयका प्रमुख, भन्सारका कर्मचारी र भन्सार एजेण्टको मिलेमतोमा तरकारी तथा फलफुलका सवारी सेटिङमा भन्सार जाँचपास गराउँदैै आएको समाचार केही समय अघि आइअफ नेपालले सार्वजनिक गरेको थियो ।

गत जेठ २२ गते राति १२ वजे मेची भन्सार भित्रैबाट भन्सारका कर्मचारीले सेटीङमा छोडेका ३ वटा मालबाहक भारतीय ट्रक शसस्त्र प्रहरीले जोरसिमलबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थ खनालले आलु र विरुवा बोकेको ति ३ वटा भारतीय ट्रकको प्रज्ञापन पत्र नक्कली भएको पुष्टि गरेका छन् । तर, नियन्त्रणमा लिइएका सवारी र सम्पुर्ण कागजातलाई नक्कली साबित गराएर दोषिहरुलाई उन्मुक्ती दिने कार्यमा स्वयम् भन्सारका कर्मचारी र सम्लग्न भन्सार एजेन्ट लागि परेको भन्सार स्रोतले जानकारी दिएको छ । मालबाहक सवारीमा लोड गरिएका सामग्रीको प्रकृति र परिमाण प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक रहेको र त्यसले कर्मचारी संलग्नता पुष्टि गर्ने भएका कारण मिलेमतोमा सबै कागजात नक्कली साबित गराएर घटना गुपचुप बनाउन खोजिएको उनिहरुको भनाई छ । गैरकानुनी धन्दामा सबैको संलग्नता पुष्टि हुने भएपछी भन्सारको सिस्टमबाटै ति सवारीको डाटा गायव गरिएको भन्सारकै कर्मचारीले जानकारी दिए ।
नियन्त्रणमा लिएका ट्रकहरू डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० रहेका छन् । ती तीन वटै ट्रक र सामान जफत गरिएको उनको भनाई छ ।
उनका अनुसार जफत भएको सवारीमा बिरुवा र आलु थियो । उनले विरुवा नष्ट गरिएको बताए । केहि आलु कुहिएको थियो भने करिव ८ लाख रुपैयाँको आलु प्रतिकेजी हिसावले बिक्री गरिएको खनालको दावी छ । तर , नियन्त्रमा लिइएका ट्रकमा प्रतिबन्धित रक्तचन्दनको बिरुवा समेत रहेको स्रोतले बताएको छ । प्रतिबन्धित सामग्री भन्सारभित्रैबाट तस्करी भएको पोल खुल्ने भएपछि बिरुवा गुपचुपमै नष्ट गरिएको हो । नक्कली प्रज्ञापन पत्रसँगै सो सामान भन्सार गरेर पठाउने व्यक्तिको पान बिल समेत सुरक्षित रहेकोले भारतबाट सामान पठाउने र काँकरभिट्टाबाट सामान पश्चिम पठाउने एजेन्टका विषयमा अनुसन्धान भईरहेको खनालले जानकारी दिए । तर, भन्सार परिसर भित्रैबाट पार्कीङ शुल्क समेत तिरेर निस्कीएका सवारी, र सवारीमा लोड गरिएका सामानको प्रज्ञापनपत्र नक्कली भएको पुष्टि गरिनु आफैमा अचम्म भएको र थप अनुसन्धानका लागि भन्सारलाई पत्र काटिएको खनालको भनाई छ ।

‘लालिगुँरास फर्मका विषयमा अनुसन्धान भईरहेको छ’, खनालले भने–‘आरोप पुष्टि हुने वित्तिकै पक्राउ गरिनेछ ।’
प्रज्ञापन रहेको ट्रकहरूमा क्रमशः ६ हजार ५ सय ९३, ६ हजार ५ सय ९३ र ६ हजार ५ सय ५३ रुपैयाँ भन्सार दाखिला भएको रसिद काटिएको सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता डिएसपी प्रेम भण्डारीले बताए ।
‘प्रज्ञापन पत्र नक्कली हो भन्ने कुरा हामीलाई थाहा हुँदैन,’–डिएसपी भण्डारीले भने–‘आशंका लागेपछि मात्र चेकजाँच गरिन्छ । ट्रकभित्र सामान कति छ, के के छ, भनेर हेर्ने अधिकार हामीलाई छैन ।’
मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओलीले ३ वटै ट्रकको प्रज्ञापन पत्र कार्यालयको सिस्टममा नभएको दावी गरे । भन्सार कागजात नक्कली बनाएर गाडी लाने विषयमा सम्बन्धीत कार्यालयलाई अनुसन्धानका लागि परिपत्र पठाईसकिएको ओलीको भनाई छ ।
मेची भन्सार कार्यालयबाट जाँचपास गरी राजस्व तिरेर छुटेका ३ वटै भारतीय नम्बर प्लेट भएका ट्रकहरु सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट काँकरभिट्टा र राजस्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले जोरसिमलबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९