
बाढीले आसपासका वस्ती बगाएर धेरै ठूलो क्षति गरेको भए पनि अहिलेसम्म यकिन विवरण प्राप्त हुन सकिरहेको छैन । तर नेपाल सरकारका स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले ५० औँ जनालाई बाढी र पहिरोले बेपत्ता बनाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

बाढी र पहिरोले आसापासका बस्तीहरु बगाएको बताइएको छ । रातभर खोलामा आएको बाढीले धेरै क्षति गरेको आंकलन छ ।

तर क्षतिको विवरण अस्पष्ट छ । आसपासका सबै ठाउँमा विद्युत सेवा अवरुद्ध छ । मन्त्री तामाङले मेलम्ची खोला र ईन्द्रावती नदीमा आएको बाढीले ५० औँ जनालाई बेपत्ता बनाएको उल्लेख गरेका छन् ।

बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको जानकारी दिएका छन् ।

त्यस्तै नाकोते, तिम्बु, फट्ट, मेलम्ची, बाहुनेपाटी, ढाँडखोला लगायतका धेरै पुलहरु बगाएको उनले बताए । नदी किनारका सबै संरचना ध्वस्त बनाउँदा अर्बौ रुपैयाँको क्षति भएको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

मन्त्री तामाङले प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहातमा जुटन अपिल गरेका छन् । बाढी प्रभावित क्षेत्रमा सरकारले जतिसक्दो चाँडो टेण्ट र खाद्यान्न पुर्याउने जानकारी उनले दिए ।

तामाङले बाढी र पहिरोबाट घरबारविहीन बनेकालाई बस्नका लागि आश्रय दिन पनि घर भएकाहरुलाई आग्रह गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायसँग विपत्तिमा साथ दिन अपिल गरेका छन् ।

समस्यामा परेहरुलाई तत्काल सम्पर्क गर्न मिल्ने गरी मन्त्री तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो र आफ्नो सचिवालयको मोबाइल नम्बर उपलब्ध गराएका छन् ।

उनले आफूसँग सम्पर्क स्थापित हुन नसक्दा स्वकीय सचिव निर्मल बञ्जरालाई पनि सम्पर्क गर्न सकिने जनाएका छन् । साथै स्थानीय प्रशासन र जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कमा रहेर विपत्तिमा परेकालाई सहयोग गर्न मन्त्री तामाङको अपिल छ ।

उनले सरकारका तर्फबाट बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण आज (बुधबार) नै हुने जानकारी दिए ।
साथै मेलम्ची र लार्के खोलामा आएको बाढीबाट हेलम्बुको एक ट्राउट माछा फार्मकी महिला टीकामाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेलम्ची बजारभित्र बाढी पसिरहेको छ । मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेका सबैजसो घर टहरा बगाएको छ ।
बाढीबाट विस्थापित भएका मेलम्ची बजारका बासिन्दा स्थानीय ईन्द्रेश्वरी माध्यामिक विद्यालय, नगरपालिकाको कार्यालय र टार तथा माथिल्लो भेगका जङ्गलमा गएर बसेका छन्।

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रभन्दामाथि ठूलो पहिरो गएको छ। तर, बाढीले आयोजनामा पुर्याएको क्षति यकिन नभएको आयोजनाका कर्मचारी निमेष रेग्मीले जानकारी दिए ।
हेलम्बु प्रहरी चौकीको भवन समेत जोखिममा परेपछि त्यहाँ कार्यरत प्रहरी सुरक्षित ठाउँमा सरेका छन् । बाढीले नदी किनारका सबैजसो माछा पोखरी बगाएको छ।

लगातारको वर्षातका कारण मेलम्ची नदीमा आएको बाढीले आयोजनाको क्षेत्रमा बस्ने मजदुरहरुको क्याम्पमा क्षति पुर्याएको छ। त्यहाँ ठूलो सङ्ख्यामा हताहती भएको अनुमान गरिए पनि यकिन विवरण आइसकेको छैन ।
साँझ सात बजेदेखि मेलम्ची नदीमा भीषण बाढी आउन थालेको हो । आयोजनामा केही क्षति गरेको आयोजनाका ईन्जिनियर राजेन्द्र पन्तले बताए। उनका अनुसार परीक्षणक्रममा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पानी हिजो (मङ्गलबार) नै खोलामा छोडिएको थियो ।

मजदुरहरु बस्ने क्याम्पसमा क्षति भएको भए पनि पूरा विवरण प्राप्त हुननसक्दा आफूहरु पनि अन्योलमै परेको पन्तले बताए । ‘बाढी र पहिरोका कारण बिजुली गएको छ, त्यहाँ सिसिटिभी जडान भएको थियो, बत्ती गएपछि के भएको हो पत्ता लगाउन सकिएको छैन,’ पन्तले भने।

सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी राजन अधिकारीले मेलम्ची नदीमा आएको बाढी र आसपासमा गएको पहिरोले ठूलो क्षति गरेको जानकारी दिए । तर क्षतिको कुनै पनि विवरण आइनसकेको उनको भनाइ छ ।
प्रहरीसहितका सुरक्षाकर्मी उद्धारमा जुटिसकेको अधिकारीले बताए । ‘वर्षाका कारण अकस्मात् बाढी आएर केही क्षति भएको हो भन्ने जानकारी आएको छ । राति भएकाले टोली पुग्न सकेको छैन,’ एसपी अधिकारीले भने , ‘तर, माथिबाट खसेको पहिरोले नदी थुनिएपछि यो भयावह अवस्था आएको खबर छ । पहिरोले नदी थुनिएपछि उत्पन्न भएको बहावका कारण क्षति भएको बुझिएको छ।’
बाढी आएसँगै मेलम्चीमा रहेको सशस्त्र प्रहरीको क्याम्प विस्थापित भएको उनले बताए। सो क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटेको एसपी अधिकारीले बताए।

उनका अनुसार मेलम्ची खानेपानीको मुहानभन्दा नौ किलोमिटरमाथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जानकारी आएको छ ।
बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार पूरै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । कम्तीमा त्यहाँका आधा दर्जनभन्दा बढी मानिस बेपत्ता भएको बताइएको छ ।
नदी छेउछाउमा रहेका टहरा र घरहरु सबै बगाएको जानकारी प्रहरीले प्राप्त गरेको छ । रातिको समयमा घटना भएकाले उद्धार प्रभावित हुँदा पनि ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको हो ।
नदी छेउछाउमा रहेका टहरा र घरहरु सबै बगाएको र मानिसहरु भागदौड गर्दै सुरक्षित स्थानमा गएका छन् । कतै पक्की पुलहरु पनि बाढीले बगाएको छ ।

बाढीपछि मेलम्ची र ईन्द्रावती खोलामा पानीको बहाव उच्च बनेको छ । अविरल वर्षापछि आएको बाढीले नदी आसपासका केही व्यक्ति, ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको हुन सक्ने प्रहरीले बताएको छ।
हेलम्बुदेखि मेलम्चीसम्म स्थानीयबासीको भागदौड मच्चिएको सिन्धुपाल्चोक प्रहरीका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। मेलम्चीबाट काठमाडौं लगिएको पानीसमेत बन्द गरेपछि मेलम्ची खोलामा पानीको बहाव उच्च बनेको हो।

खोलामा लेदो मात्रै आइरहेको सापकोटाले बताए । उनका अनुसार नाकोटे पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, नेपाली सेनाको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प, मेलम्चीको पक्की पुल, खोला किनारका आठवटा माछा फार्महरु, खेती योग्य जमिन, मेलम्ची बसपार्क लगायत बगाएको खबर छ ।

तर मानवीय क्षतिको कुनै वास्तविक विवरण आइनसकेको उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाका ३५/४० जना कामदार सम्पर्कविहीन भएको भनिएको छ । उनीहरुको अवस्था थाहा हुन नसकेको प्रहरीको भनाइ छ ।
तिम्बुदेखि मेलम्ची बजारसम्मका कैयौं मानिस सम्पर्कविहीन रहेको सापकोटाले बताए । उनले सबैलाई सुरक्षित रहन आग्रह गर्दै उद्धारका लागि जुट्न सबैमा अपिल गरेका छन् ।कोशी अनलाइनबाट