
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने पत्र अमेरिकालाई पठाएको बताएका छन्। राष्ट्रिय सभा बैठकमा सोमबार बोल्दै गृहमन्त्री खाँणले एसपीपीमा आबद्ध नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकी सरकारलाई पठाइएको जानकारी दिए।
‘परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने पत्र पठाइसकेका छौं। मन्त्रिपरिषद्ले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्यो,’ उनले भने।
असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेको थियो। त्यससँगै परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई पत्रसमेत पठाउने निर्णय गरेको थियो।
नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिको प्रतिकूल हुने प्रावधान राखिएको एसपीपी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि सरकारको चर्को आलोचना भएको थियो।