
काठमाडौं । सामाजिक र प्रेमकथामा आधारित फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।
यो फिल्मलाई यसअघि रिलिज भएको ‘प्रसाद’को सिक्वेल बताइएको छ । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि रोमान्टिक फिल्म निर्देशकको छवि बनाएका सुदर्शनले ‘प्रसाद’लाई विशुद्ध सिक्वेल भएको बताए ।
आफूले नयाँ ढंगबाट यसलाई हेरेको भन्दै सुदर्शनले अघिल्लो फिल्मको कथा सकिएकै ठाउँबाट नयाँ सुरु हुने बताए । यसपटक छुवाछूतको मात्र कथावस्तु नभएर मुख्य पात्रहरु बाबुराम र नारायणीको जीवनमा आउने सामाजिक र पारिवारिक द्वन्द्वलाई फिल्ममा चित्रण गरिने थापाले बताए ।
बाबुरामको भूमिकामा विपिन कार्की र नारायणीको रोलमा नम्रता श्रेष्ठ छन् । यी दुईलाई अन्तरजातीय दम्पतीको रुपमा प्रस्तुत गरिएको छ । यसपटक फिल्ममा निश्चल बस्नेत छैनन् । उनको ठाउँमा अर्पण थापाको प्रवेश भएको छ । राज कटुवाल पनि मुख्य भूमिकामा छन् ।