
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको समीक्षा र आसन्न निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् ।
केन्द्रीय समिति बैठकको तयारीका लागि आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्दैछ भने नेता शेखर कोइराला समूहको बैठक विशालनगरमा बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकको तयारीका लागि आइतबार दिउँसो पदाधिकारी बैठक बस्न लागेको जानकारी दिए ।
‘सभापतिज्यू कार्यव्यस्तताका कारण बैठकमा आउनुहुन्न । उपसभापतिज्यूले बैठक सञ्चालन गर्नुहुन्छ, केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गर्नेबारे छलफल हुन्छ,’ उनले भने । मुख्यसचिव पौडेलले सोमबारदेखि हुने बैठकमा मूलतः स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयहरूमाथि छलफल हुने बताए । त्यस्तै, केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन कोइराला समूहको अलग्गै बैठक बस्दैछ ।
पार्टी सञ्चालनमा सभापति देउवाले एकलौटी गरेकोमा विरोध गर्दै आएको कोइराला समूहले यसपटकको केन्द्रीय समिति बैठकमा दबाब बढाउने संकेत गरेको छ । नेता कोइरालाले आफूनिकट नेताहरूलाई आइतबार दिउँसो विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफलका लागि बोलाएका छन् । यसअघि गत बिहीबार र शुक्रबार दुई दिनसम्म अलग्गै छलफल गरेको कोइराला समूहले देउवा पार्टी र सरकार सञ्चालन दुवैतिर असफल भएको निष्कर्ष निकालेको थियो ।
१४ औँ महाधिवेशनपछि छ महिनामा गरिसक्नुपर्ने विधानबाट निर्देशित कामसमेत सभापति देउवाले पूरा गर्न नसकेको कोइराला समूहको भनाइ छ । सभापति देउवाले सरकार सञ्चालनमा व्यस्त हुँदा विधानले गरेको कोषाध्यक्ष चयनदेखि सदस्यहरूको मनोनयन, विभाग गठन लगायत महत्त्वपूर्ण संगठन व्यवस्थापनका काममा समय दिन सकेका छैनन् । कोइराला समूहले भने ती काममा सभापति देउवाले चासो नै नदिएको आरोप लगाउँदै आएको छ ।