युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

वीरगन्ज । वीरगन्जमा किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट चार ट्रक युरिया मल कब्जामा लिएपछि देशका १६ जिल्लामा मलको आपूर्ति ठप्प भएको छ।

 

 

नेपाल सरकारले ग्लोबल टेन्डरमार्फत् ओमानबाट खरिद गरी ल्याएको युरिया मल वीरगन्जस्थित कम्पनीको प्रादेशिक कार्यालयले आइतबार बिक्री वितरणका लागि विभिन्न जिल्लामा पठाउने क्रममा वीरगन्जका मेयर राजेशमान सिंहसहित किसानहरुको समूहले चार ट्रक मल कब्जामा लिएका  थिए। वीरगन्जका किसानलाई प्रयाप्त मल उपलब्ध नगराएसम्म अन्य जिल्लामा मल लैजान नदिने उनीहरूको अडान छ।

त्यही कारण विदेशबाट वीरगन्ज ल्याइसकेको युरिया मल अन्य जिल्लामा पठाउन नसकिएको कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाईँले बताए।

‘वीरगन्जस्थित कम्पनीको ३ वटै गोदाममा असुरक्षाका कारण आइतबारदेखि प्रहरीको पहरा दिएर राखेका छौं,’ उनले भने।

वीरगन्जका मेयर स्वयंले मागेजति मल यहाँका किसानले नपाए १ बोरा मल पनि अन्य जिल्लामा पठाउन दिँदैनौं भनेर अडान राखेकाले असुरक्षाका कारण १६ जिल्लामा मल पठाउन नसकिएको उनको भनाइ छ।

‘वीरगन्ज महानगरका किसानका लागि हामीले २७ सय बोरा मल छुट्टयाएका छौं। तर, यहाँका किसान र मेयरले कम्तीमा पनि १० हजार बोरा मल चाहिन्छ भनेर अडान लिएका छन्,’ उनले भने।

कुन जिल्लामा कति मल वितरण गर्ने भन्ने कोटा निर्धारण गर्ने अधिकार कृषि मन्त्रालयको प्राविधिक समितिलाई मात्र भएकाले आफूले वीरगन्जका लागि मलको कोटा थप्न नसक्ने उनले प्रष्ट पारे।

वीरगन्जका मेयर र किसानहरुको अवरोधका कारण अन्य १५ जिल्लाका किसान मल पाउनबाट वञ्चित भएको कम्पनीका महानिर्देशक राजेन्द्र बहादुर कार्कीले बताए।

‘एक त १२० दिनमा आइपुग्नु पर्ने मल हामीले अथक प्रयास गरेर २८ दिनमै ल्याइपुर्‍यायौं किसानले छिट्टै पाउन भनेर आइतबारदेखि जिल्ला जिल्लामा पठाउन सुरु गरेका थियौं। तर, विरगन्जका मेयर र किसानले मलको ट्रक नै कब्जामा लिए, उनीहरूको अवरोधले अन्य जिल्लाका किसानले पनि दुःख पाइरहेका छन्,’ उनले भने।

उनले आइतबार वीरगन्जस्थित कम्पनीको गोदामबाट महोत्तरीका लागि २, पर्बतका लागि १ र रौतहटका लागि १ ट्रक मल पठाउने क्रममा मेयर राजेशमान सिंहसहितका किसानहरुले कब्जामा लिएर बालमन्दिरको प्रांगणमा राखेको बताए।

‘अन्य जिल्लामा पठाउनका लागि वीरगन्जस्थित गोदाममा ट्रक र ट्याक्टरमा मल लोड गरेर राखिसकेका छौं। तर, वीरगन्जका मेयरसहित त्यहाँका किसानले मागेजति मल नपाउँदासम्म १ बोरा मल पनि अन्यत्र पठाउनै दिन्नौं भनेका छन्। मलको कोटा निर्धारण गर्ने अधिकार मन्त्रालयको प्राविधिक समितिलाई मात्र छ,’ उनले भने।

नेपाल सरकारले विदेशबाट खरिद गरी आयात गरेको मल वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले मधेस प्रदेशका ८ जिल्लाका साथै काठमाडौं, चितवन, पर्बत, नुवाकोट, कास्की, धादिङ, मकवानपुरलगायत १६ जिल्लामा वितरण गर्दै आएको छ।

ओमानबाट खरिद गरिएको कूल ३० हजार मेट्रिक टन युरिया मलमध्ये १० हजार मेट्रिक टन (२ लाख बोरा) मल वीरगन्जस्थित कृषि सामग्री कम्पनीको गोदाममा आइपुगेको छ। बिहीबार थप २५ सय मेट्रिक टन (५० हजार बोरा) युरिया मल आइपुग्ने कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चौलागाईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९