
झापा, साउन ४ । मेची प्रादेशिक अस्पताल भद्रपुरका डा. केवल कपुरीमाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले आज ओपिडी सेवा बन्द गरेका छन् । हल्दिबारीका पुष्पराज निरौलाले आइतबार साँझ आकस्मिक कक्षमा कार्यरत डा. कपुरीलाई कुटपिट गरेको विरोधमा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले ओपिडी सेवा बन्द गरेका हुन् ।
डा कपुरीका अनुसार निरौला आफन्तको उपचारका आइतबार साँझ लगभग ५ बजेको समयमा आकिस्मिक कक्षमा आएका थिए । आफु विरमीका लागि वेडको प्रवन्ध गर्न वाडमा गएको समयमा अन्य स्वास्थ्यकर्मीले प्रारम्भिक जाँच गरेका थिए । तर, लगत्तै पुगेर बिरामीका सम्बन्धमा बुझेर एउटा थप जाँच लेखेको थिएँ । त्यसपनि निरौलाले अभद्र व्यवहार गर्दै कुटपिट गरेको डा कपुरीले बताए ।
अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले डा. कपुरीमाथि कुटपिट गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै ओपिडी सेवा बन्द गर्ने निर्णय गरेका छन् । अस्पतालका मेडिकल सुपेरिटेण्डेट डा टंक बारकोटीले डिउटीमा खटिएका डाक्टरमाथि कुटपिट गर्ने व्यक्तिलाई तत्काल कारबाह गर्न माग गरेका छन् । उनले भने, स्वास्थ्यकर्मी असुरक्षित हुँदा सेवा दिनै समस्या हुन्छ ।
डा कपुरीले आइतबार नै वडा प्रहरी कार्यालय भद्रपुरमा निवेदन दिएका थिए । तर, वडा प्रहरीले जिल्लामा प्रहरी कार्यालयमा पठाएकाले आज सोमबार निवेदन दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारबाही हुने बताए । स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी नयाँ ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।
सजिलो खबरबाट