
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुटमा रहँदै आएका एमाले सांसद कृष्ण श्रेष्ठ (किसान) ले सर्वोच्च अदालत र मतदाताको सम्मानका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताएका छन् ।
राजनीतिमा रहेदेखि ओली निकट रहँदै आएका श्रेष्ठले अकस्मात गुट परिवर्तन गरेर देउवालाई मत हालेका छन् । यद्यपी उनले आफु गुटभन्दा पनि एमालेको सांसद भएको बताए ।
आफूले बाम गठबन्धनबाट चुनाव जितेको भन्दै बाम गठबन्धनको पक्षमा रहेको पनि बताए ।
उनले यसअघि मन्त्री नबनाइएको हुँदा नै फ्लोक्रस गरेको संकेत समेत गरे ।
उनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई तनहु क्षेत्र नम्बर १ मा हराएका थिए ।
कांग्रेसकै गोपालमान श्रेष्ठ, आरजु राणा देउवालाई हराउने एमाले सांसदलाई पटक पटक मन्त्री बनाइएको तर धेरै पटक मन्त्री भएका पौडेललाई आफूले हराएको भए पनि मन्त्री नबनाइएको समेत बताए ।
“गोपालमान श्रेष्ठ हराउने सांसदलाई पटक पटक मन्त्री बनाइयो । आरजु राणा देउवा हराउनेलाई मन्त्री बनाइयो । पटक पटक मन्त्री भएका रामचन्द्र पौडेललाई मैले हराएको र मन्त्री नपाउँदाको असन्तुष्टि छँदै थियो । तर, त्यो मात्रै मेरो असन्तुष्टि होइन । सर्वोच्च अदालत र तनहुँ क्षेत्र नम्बर १ का जनताको सम्मानका लागि विश्वासको मत दिएको हो,” उनले भने ।
उनले सर्वोच्च अदालतको फैसलाले नै कारबाही गर्न पाउँदैन भनेकाले पार्टीले कारबाही गर्न नसक्ने समेत बताए । “सर्वोच्च अदालतको फैसला मान्छु भनेर हिजो संसद्को रोष्टमबाट प्रदिप ज्ञवालीले बोल्नुभएको छ । त्यसैले कारबाहीको डर भएन । अर्को कुरा कारबाही गर्दा माधवकुमार नेपाल, झलनाथ खनाल जो नेकपा एमाले निर्माण गर्दाका नेताहरु यो पक्षमा रहेकाले कारबाही कसरी गर्ला, के गर्ला ? म भन्दा आदरणीय नेताहरु हुनुहुन्छ, उहाँहरुलाई जे गर्छ मलाई पनि त्यही गर्लान्, त्यसमा मलाई कुनै डर छैन ।”