
देउवालाई विश्वासको मत नदिऔं भन्दा माधव नेपालले हप्काएछन्ः ओली
काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलमा बसेको १० औं केन्द्रीय कमिटी बैठकले कार्यदलले दिएको सुझावअनुसार पार्टी अगाडि बढाउन थालेको हो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका उपाध्यक्ष भिम रावललाई फिर्ता लिन आग्रह गरेका छन्।
देउवालाई विश्वासको मत दिनु पर्दैन, पार्टी एकीकरण गरौं भनेर रावलले राखेको प्रस्तावलाई नमानी नेता माधवकुमार नेपालले उल्टै हप्काएर पठाएको बताउँदै ओलीले बैठकमा भने,‘हामीले कार्यदलको सुझाव मान्यौं। तर माधव नेपाल मान्दिन, जेसुकै गर भन्ने तालले हिँडे।’