
बिर्तामोड । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरले आन्दोलन फिर्ता लिएका छन् । डाक्टरमाथि हातपात गर्ने बिरामीका आफन्तलाई कारबाही गर्ने स्थानीय प्रशासनको प्रतिबद्धतापछि उनीहरूको आन्दोलन फिर्ता भएको हो ।
यसअघि हिजो अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर केवल कपुरी र बिरामीका आफन्त पुष्पराज निरौलाबीच हात हालाहाल भएको थियो । घटनाको विषयलाई लिएर अस्पतालका डाक्टर र कर्मचारीले आन्दोलनको घोषणा गर्दै आज दिनभर आकस्मिक बाहेकका सेवा बन्द गरेका थिए ।
डाक्टरको आन्दोलनका कारण अस्पताल पुगेका बिरामीहरु त्यत्तिकै फर्कन बाध्य भएका छन् । डाक्टरको आन्दोलनका विषयमा चासो राख्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूको आन्दोलन फिर्ता भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर टंक बाह्रकोटीले दोषीमाथि कारबाही गर्ने स्थानीय प्रशासनको प्रतिवद्धता आएपछि आन्दोलनका सबै कार्यक्रम छोडेर डाक्टरहरु आफ्नो काममा फर्किसकेको जानकारी दिनुभयो ।