
बिर्तामोड । झापामा पुस २८ गतेसम्म ७ लाख ८८ हजार ८६१ जना मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुमध्ये ४ लाख ५७ हजार ६०४ जनाले पहिलो डोज र ३ लाख ३१ हजार २५७ जनाले पूर्ण खोप लगाएका हुन् ।
कोरोनाविरुद्धको खोपमध्ये सबैभन्दा बढी भेरोसिल खोप प्रयोग भएको छ ।
भेरोसिलको पहिलो मात्रा २ लाख ६८ हजार ७४२ जना र दुवै मात्रा १ लाख ५२ हजार २४० जनाले गरी जम्मा ४ लाख २० हजार ९८२ जनाले लगाएको स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुँडामणी लुईटेलले जानकारी दिए । एक्स्ट्राजेनिका १ लाख ११ हजार २९६ जनाले पहिलो मात्रा र ५६ हजार ३०६ जनाले दुवै मात्रा लगाएका छन् । बुद्धशान्ति गाउँपालिकाबाहेक सबै पालिकाले एक्स्ट्राजेनिकाको दुवै मात्रा खोप सञ्चालन गरेको छ ।
बुद्धशान्तिले सो खोपको पहिलो मात्रा १६ हजार ४१३ जनालाई लगाएको छ । त्यस्तै, जिल्लामा कोभिशिल्डको पहिलो मात्रा ७२ हजार ८७८ जना र ४५ हजार २२१ जनालाई दुवै मात्रा लगाइएको छ । भद्रपुर नगरपालिकाले फाइजर खोपसमेत लगाएको छ । पालिकाले १२ देखि १७ वर्ष उमेर समूहका १ हजार ७५३ जनालाई पहिलो मात्रा, १८ वर्ष उमेर समूहका १९४ जनालाई पहिलो मात्रा र १ हजार ७१९ जनालाई दुवै मात्रा फाइजर खोप लगाएको छ ।
अठार वर्षभन्दा माथिका १ हजार ९४७ जनालाई पहिलो र १ हजार ७१९ जनालाई दुवै मात्रा फाइजर खोप लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, गौरादह नगरपालिकाले २ हजार ७४१ जनालाई मोडर्नाको पहिलो मात्रा खोप लगाएको छ । सबैभन्दा बढी मेचीनगर नगरपालिकाका १ लाख ३८ हजार ६९७ जनाले खोप लगाएका छन् । त्यसमा ७९ हजार ५७९ जनाले पहिलो मात्रा र ५९ हजार ११८ जनाले पूर्ण खोप लगाएका छन् ।
त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा कम खोप प्रयोग भएको छ । गौरीगञ्ज गाउँपालिकाका १९ हजार ६०३ जनाले पहिलो मात्रा र ६ हजार १०६ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत लुईटेलले बताए ।