युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडाैँ। आगामी निर्वाचनपछि  को राष्ट्रपति बन्ने भन्ने विषयमा बहस र चर्चा सुरु भएको छ । मङ्सिर चार गते पछिको निर्वाचन पछि राष्ट्रपतिको कार्यकाल अन्त्य हुने छ भने नयाँ सरकार बने लगत्तै नयाँ राष्ट्रपति चयनको प्रक्रिया पनि सुरु हुने छ ।

निर्वाचन सम्पन्न हुन अझै केही दिन बाकिँ छ । तर केही नेताहरू निर्वाचनपछि राष्ट्रपति बन्ने तयारीमा जुटी सकेका छन् । सत्ता गठबन्धनकै सरकारले नेतृत्व गर्ने दाबी गर्दै आएका एक दर्जन भन्दा बढी नेताहरूले देशको अभिभावक भएर काम गर्ने इच्छा देखाएका छन् । मूलधारका राजनीतिक दलका शीर्ष नेताहरूले जीवनको उत्तरार्धमा एक पटक राष्ट्रपति हुने  इच्छा देखाएका हुन । 

सत्ता गठबन्धनका दलहरूले आगामी निर्वाचन पछि शक्ति समीकरणको विषयमा समेत छलफल सुरु गरेका छन् । एकै दलको बहुमत नआउने र गठबन्धनको सरकार बनाउँदा राष्ट्रपति, उप—राष्ट्रपति,प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाको अध्यक्ष लगायतका महत्त्वपूर्ण पदमा भागबन्डा गर्नु पर्ने छ । त्यसैका लागि प्रधानमन्त्रीका लागि नेताहरूले लबिङ गरेकै समयमा नेताहरूले राष्ट्रपतिका सवालमा पनि लबिङ सुरु गरेका हुन । 

यसमा सबै भन्दा बढी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको चर्चा चलेको छ । २०७४ सालको निर्वाचनपछि नै राष्ट्रपति  हुने खनालको इच्छा अझै जीवित छ ।  एमाले अध्यक्ष केपी ओलीको चाहना अनुसार  विद्यादेवी  राष्ट्रपति भण्डारी नै दोहिरिएपछि खनालको इच्छा पुरा हुन सकेन ।

अहिले तत्कालीन एमाले विभाजन गरेर देउवाको नेतृत्वको सरकार गठन गर्नु अघि नै बुढानिलकण्ठमा झलनाथ खनाललाई राष्ट्रपति बनाउने सहमति भइसकेको सत्ता गठबन्धनका नेताहरूबीच चर्चा चलेको छ ।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी दलका अध्यक्ष डाबाबुराम भट्टराईबीच पनि अबको राष्ट्रपतिको हुने भन्ने विषयमा सहमति जुटिसकेको एक थरीको मत छ । संसदीय निर्वाचनमा भट्टराईले समर्थन गर्ने सर्तमा दाहालले बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने बचन दिएको चर्चा पनि सार्वजनिक भएको छ ।

सरकारको नेतृत्व कांग्रेसले गरेको अवस्थामा माओवादीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रपति बनाउने सक्ने माओवादी केन्द्रका नेताहरूको आकलन छ । दुई कार्यकाल उपराष्ट्रपतिको भूमिका निर्वाह गरिसकेका पुनले आगामी निर्वाचन पछि राष्ट्रपतिको भूमिका रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन्  । 

यस्तै संसदीय निर्वाचन नलडेका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा पनि राष्ट्रपतिको लाइनमा छन् । सापकोटाकै कारण सिन्धुपाल्चोक क्षेत्र नं २ निकै पेचिलो बनेको थियो । तर एका एक सापकोटा निर्वाचन नलड्ने घोषणा गरे पनि उनको यो मौनतालाई आगामी निर्वाचन पछि उनले राष्ट्रपतिको नामका लागि सिफारिस गरिसकेको कतिपयको बुझाई छ । 

पार्टी र देशको प्रमुख पदमा पुग्न खोजेका तर नसकेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि राष्ट्रपतिको दौडमा रहेको चर्चा पनि चलिरहेको छ । पौडेल सके प्रधानमन्त्री बन्ने नसके राष्ट्रपति भए पनि हुने तयारीमा छन् । राष्ट्रपति बनाइदिने सर्तमा पार्टीको १४ औँ महाधिवेशनमा पौडेले सभापति देउवालाई मौन समर्थन गरेको त्यतीबेलै चलेको चर्चा हो ।

महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेका अर्का नेता  कृष्ण सिटौलाको नाम पनि चर्चामा छ । यस्तै काँग्रेस पूर्व उपसभापति गोपालमान श्रेष्ठले यसअघि नै राष्ट्रपति हुने इच्छा देखाइ सकेका छन् । यद्यपि राष्ट्रपतिका विषयमा गठबन्धन भित्र कुनै छलफल नभएको काँग्रेस नेताहरूको दाबी छ । 

“ अब राष्ट्रपति, प्रधानमन्त्री जम्मै सल्लाहबाट हुने हो । योग्य मान्छे, कर्मठ मान्छे, निष्कलङ्क साथी जो कोही पनि जान सक्छ । यी सबै पछिका कुरा हुन, यो अहिले नै परिकल्पना गर्नु पर्ने विषय होइन । यस विषयमा हामी बिच कुनै छलफल भएको छैन । निर्वाचन पछि गठबन्धनले स्पष्ट बहुमत ल्याउँछ, अनि हामी बसेर छलफल गछौं । ”— नेपाली काँग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठ  भन्छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका पछिल्ला अभिव्यक्तिले भने आगामी निर्वाचनपछि सत्ता गठबन्धन कायम रहनेमा आशङ्का थपिएको छ । पछिल्लो समय उनीहरूले बारम्बार राजनीति सम्भावनाको खेल भएको भन्दै निर्वाचन पछि अर्कै परिस्थिति नआउला भन्न नसकिने बताउँदै आएका छन् । सत्ता गठबन्धनका हरेक कार्यक्रममा गठबन्धन आजको आवश्यकता भोलि पनि गठबन्धनको पाँच वर्ष सरकार भन्दै मत मागेका नेताहरूले एक्ला एक्लै सञ्चार माध्यमसङ कुरा गर्दा भने यस्तो प्रतिक्रिया दिन थालेका छन् । 

उनीहरूको यस्तै अभिव्यक्तिका कारण आगामी निर्वाचन पछि अर्कै समीकरण नबन्ला भन्न सकिँदैन । शक्ति समीकरणमा मतभेद सिर्जना भए निर्वाचनपछि काँग्रेस एमाले अथवा फेरी पनि वामपन्थी दलको सरकार बन्ने अवस्था आउन सक्छ । यस्तोमा एमालेले राष्ट्रपतिको भाग पाएको अवस्थामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अघि सार्ने सम्भावना रहेको छ ।

पार्टीको १० औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको दाबी गरेका नेम्वाङलाई अध्यक्ष ओलीले राष्ट्रपति बनाउने आश्वासन दिएको त्यति बेला नै चर्चा चलेको थियो । नयाँ सरकार बने लगगतै राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने छ । राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिएसँगै नयाँ राष्ट्रपति चयनको बाटो खुल्ने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९