युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ । हत्या हिंसाका विरोधी, सत्य र धर्ममा निष्ठ, समाज सुधारक महागुरु फाल्गुननन्दको आज जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम आयोजना मनाइदै छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

उनको योगदानको कदर गर्दै पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोवास भएका जिल्लामा फाल्गुनन्द जयन्ती विशेष रुपले मनाउने गरिन्छ ।

पूर्व नेपालको इलाममा जन्मनु भएका गुरु फाल्गुननन्द अद्भुत तथा चमत्कारिक गुणयुक्त मानिन्छन् । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

झापाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा स्थापित गरिएको छ भने दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनिसरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ । यतिमात्र होइन उनको सम्मान स्वरुप पाँचथरमा एक गाउँपालिको नाम पनि फाल्गुननन्द गाउँपालिका राखिएको छ ।

प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुननन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ । नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

नेपालमा मात्र नभइ भारत र भुटानका कतिपय किराँत समुदाय पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा मान्ने गर्दछन् । फाल्गुननन्द जयन्तीको अवसरमा आज किराँत समुदायहरुले देशभरका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेका छन् । प्रदेश १ मा जयन्तीको अवसरमा बिदा समेत दिइएको छ ।

को हुन् फाल्गुननन्द ?

फाल्गुननन्द अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा मान्ने गरीन्छ । उनले दिएका दिव्य ज्ञान अनि सत्य वचनहरूले आज पनि मानवलाई सत्मार्ग देखाउने गरेको छ । उनी मुलत सामाजिक र आध्यात्मिक चिन्तनका गुरु हुन् । फाल्गुननन्द एक समाज सुधारक हुन् । उनको पूरा नाम फाल्गुननन्द लिङ्देन हो ।

विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दको सुरुवाती दिन सहज थिएन । उनी बाल्यकालमा दुखःमा हुर्किएका थिए । बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साहिँला छोराका रूपमा जन्मिएका फाल्गुननन्दको न्वारनमा नरध्वज लिङ्देन हो ।

बाल्यकालमा सिकिस्त बिरामी भएपछि उनलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइ दिएपछि उनको नाम फलामसिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहलाई परिवर्तन गरेर उनको नाम फाल्गुननन्द रह्यो ।

सेनामा रहँदा पूजापाठमा लीन हुने फाल्गुननन्दलाई उनका साथीहरूले योगी, तपस्वी लगायतका उपनामले बोलाउने गरेका थिए । त्यसबेला फाल्गुननन्दले लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर बेलायती सेनाको जागिर छाडेर हिडेक थिए ।

फाल्गुननन्दका हत्या र हिंसाको विरोधका विचार, नारी जाति सृष्टिकर्ता भएकाले उनीहरूलाई समाजमा उँचो सम्मान दिनु पर्ने तर्क, आफ्नो कूल देवतालाई नित्य दुई पटक पूजा आराधना गर्नु पर्ने धारणा र माछा मासु, मदिरा सेवन गर्न नहुने विचार आज पनि चर्चित छन् । महागुरु फाल्गुननन्दको निधन विसं २००५ मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९