
काठमाडौं । नेपालले अफगानिस्तानका जनताका लागि औषधि र लत्ताकपडा पठाएको छ। हिमालय एयरलाइन्सको जहाजमार्फत् नेपालले औषधि, लत्ताकपडा र घरायसी सामग्री अफगानिस्तान पठाइएको हो। परराष्ट्र मन्त्रालय नेतृत्वको नेपाली टोलीसहितको जहाज अब करिब साढे ३ घन्टामा काबुलस्थित विमानस्थलमा पुग्नेछ। जहाज काबुलमा अवतरण गरेपछि त्यहाँ संयुक्त राष्ट्रसंघको गाडी आउने र उक्त गाडीबाट सामग्री लगेर हस्तान्तरण गरिने बताइएको छ ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताउनुभयो ।
परराष्ट्र मन्त्री खड्काका अनुसार अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन्। तीमध्ये ३० लाख बालबालिका कुपोषणबाट ग्रस्त रहेको उनले बताए।
‘अफगानी जनताका लागि अन्तर्राष्ट्रिय सहयोग यतिबेला ठप्प भएको अवस्थामा नेपालले मानवीय सहयोग पुर्याउनुपर्छ भनेर विशेष जहाजबाट आज सामग्री पठाउन लागेका हौं,’ उहाँले भन्नुभयो ‘सरकारलाई कुनै व्ययभार नपारी निजी क्षेत्रकै सहयोगबाट हामीले इतिहासमै पहिलोपटक यस्तो सहयोग गर्न लागेका छौं।’प्राकृतिक प्रकोपमा नेपाल परेका बेला विभिन्न देशबाट सहयोग लिएको स्मरण गर्दै उहाँले नेपालले पनि परेका बेला सहयोग गर्न सक्ने बताउनुभयो ।
यो प्रयासबाट नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रिय समुदायमा बढ्छ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो । औषधिलगायत सामग्री बोकेको जहाजमा नेपालका तर्फबाट मन्त्रालयकी सहसचिव सेवा लम्साल, मन्त्रालयका कर्मचारी, उद्योगी तथा व्यवसायीहरू र पत्रकारहरू रहेका छन् ।