युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौँ ।प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम लगभग आइसकेको छ । अब दोलखाको मत परिणाम आउन मात्र बाँकी छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम अन्तिम परिणाम नआउँदै नया सरकारको कसरत सुरु भएको छ । साथै भावी प्रधानमन्त्रीका लागि आन्तरिक गृहकार्यले पनि तीव्रता पाएको छ ।

सत्तारूढ ५ दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन सरकार बन्ने देखिएको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम जोड्दा कांग्रेस १० देखि १२ सिट अन्तरमा पहिलो पार्टी हुने देखिएकाले सरकार गठनमा उसको नै पहिलो दावेदार बन्ने देखिन्छ । एमाले पनि समानुपातिकमा आफू पहिलो पार्टी बनेकाले सरकार गठनमा आफूहरूको पनि दाबी रहने बताउदै आएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखलगायत प्रमुख पदमा भागबण्डा गरेर गठबन्धन सरकार बनाउने विषयमा गठबन्धनका नेताबीच छलफल भइरहेको छ । प्रमुख पदका साथै प्रदेश प्रमुख, राजदूत नियुक्ति, संवैधानिक आयोगमा नियुक्तिलगायत महत्वपूर्ण पद बाँडफाँट गरेर अघि बढ्नेबारे छलफल भइरहे पनि प्रधानमन्त्री को हुने भन्ने विषयमा दलहरूबीच तीव्र मतभेद छ ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइरालासहित महामन्त्री गगनकुमार थापालगायत नेता संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्न योजनाबद्ध रूपमा अघि बढेका छन् । कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षीहरूको सङ्ख्या बढ्दा सभापति शेरबहादुर देउवा अप्ठयारोमा परेका हुन् । देउवा फेरि सबैलाइै पाखा लगाउँदै पुनः संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

कांग्रेसभित्र ‘प्रधानमन्त्री को’ हुने भन्ने रस्साकस्सी भइरहेका बेला नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले पनि ‘प्रधानमन्त्री आफू हुने’ र कांग्रेसले राष्ट्रपतिसहित अन्य महत्वपूर्ण पद लिएर अघि बढ्नुपर्ने भन्दै दबाब दिएका छन् ।

गठबन्धनभित्रबाट ‘कुन पार्टीका को प्रधानमन्त्री’ हुने भन्नेबारे टुंगो नलागिरहेको बेला एमालेसमेत प्रधानमन्त्रीका लागि आन्तरिक तयारीमा जुटेको छ । एमाले नेतृत्वमा रहेको जसपा, राप्रपासहित माओवादी केन्द्र, जनमत पार्टी तथा स्वतन्त्रसहितको मिलिजुली सरकार बनाउने विषयमा आन्तरिक जोडघटाउमा लागेका छन् ।

एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माणका लागि सत्तारूढ गठबन्धन विभाजन गरेर सरकार निर्माण गर्ने रणनीतिमा एमाले छ ।
निर्वाचनमा कुनै दलले पनि बहुमत नल्याउने स्पष्ट भएकाले दुई वा त्यसभन्दा बढी दल मिलेर सरकार बन्ने निश्चित देखिएको छ ।
प्रत्यक्षतर्फ पहिलो दल नेपाली कांग्रेस र समानुपातिक मततर्फ एमाले पहिलो दलका रूपमा रहेको छ । कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले नै सरकार बनाउने र पाँच वर्षसम्म गठबन्धनका प्रमुख तीन नेता कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ‘पालैपालो प्रधानमन्त्री बन्नेगरी प्याकेज’मै सहमति खोज्नेगरी उनीहरूबीच ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको हुन सक्छ ।

यद्यपि, गठबन्धन दलको निर्णय र समर्थनले मात्रै कांग्रेसले प्रधानमन्त्री पद पाउने भएकाले बढी सम्भावना भने कांग्रेस सभापति देउवाकै देखिएको छ । पछिल्ला दिन कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड तथा एकीकृत समाजवादी अध्यक्ष नेपालबीच ‘गठबन्धनकै सरकार बनाएर अघि बढ्ने’ सहमति हुनुका साथै उनीहरू पालैपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइन्छ ।

 

नया खेलाडीको भूमिका

पश्चिम तराईमा जन्मिएको नागरिक उन्मुक्ति, मधेसमा जन्मिएको जनमत पार्टी र फरकरुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा सत्ता समीकरणको नयाँ खेलाडीका रुपमा देखिनेछन् । भिन्न पृष्ठभूमिबाट राजनीतिक यात्रा सुरु गरेर संसद्मा आउन लागेका यी दलहरूको मुद्दा उनीहरुले भनेको पत्याउने हो भने सरकार भन्दा नागरिक केन्द्रित हुनेछ । तर उनीहरु भित्रभित्रै सरकारमा जाने तयारी पनि गरिरहेका छन् ।जनमत पार्टी र नागरिक उन्मुक्तिपार्टीले सरकारमा जाने घोषणा गरिसकेको छ । रवी लामिछाने नेतृत्वको पार्टीले अवस्था हेरेर चल्ने भनेको छ ।लामिछानेले सरकारमा जाँदै जान्नौ नभनेकाले सरकार बनाउने खेलको एउटा महत्वपूर्ण खेलाडी जनमत पार्टी बन्ने पक्का छ । संवैधानिक राजतन्त्रको मुद्दा लिएर हिँडेको राप्रपाको उपस्थिति पनि बढ्नेछ । माओवादी केन्द्रको आकार खुम्चिँदै छ । एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी)ले त राष्ट्रिय मान्यता पाउन कठिन देखिएको छ । यो परिस्थितिले सरकार गठन निकै सकसपूर्ण बन्ने आँकलन गरिन्छ ।

अहिलेसम्मको परिस्थितिले एमाले र कांग्रेस मिलेको अवस्था बाहेक दुई दल मिलेर सरकार गठन गर्न सक्ने सम्भावना छैन । यी दुई दल मिल्न तत्कालका लागि सजिलो पनि छैन । यसको अर्थ संसद सुरुदेखि नै एउटा ध्रुवमा एमाले र अर्को धुव्रमा कांग्रेस बसेर बाँकी दल खिचातानीमा पर्ने सम्भावना छ ।

निर्वाचनको नतिजाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउ भन्ने सन्देश दिएको छ तर राजनीतिक पद कसरी बाँडफाँट हुन्छ भन्ने कुराले सरकार गठनको विषय निक्र्यौल हुनेछ । कांग्रेस वा एमाले जसको सरकार बन्ने अवस्था आए पनि माओवादी केन्द्रको सहभागिता अनिवार्य छ । अझै पनि सत्ताको साँचो माओवादी केन्द्रसँगै रहेको हुँदा अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा दाबी गर्ने सम्भावना प्रबल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९