
काठमाडाैँ । निर्वाचनमा अन्तरर्घात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले तीन जनालाई कारवाही गरेको छ । अन्तरर्घात गरेको आरोपमा पाटीका दुई केन्द्रीय सदस्य र एक जना क्षेत्रीय सभापतिलाई कारवाही गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
शनिबार बसेको जिल्ला समितिको बैठकले केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेललाई कारबाहीको निर्णय गरेको कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिएका छन् ।
‘सुचनाको आधारमा जिल्ला अनुशासन समितिमा पर्न आएको उजुरी उपर छानविन गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नं २ काभ्रेका क्षेत्रीय सभापति महेश खरेलले पार्टीको आधिकारीक उम्मेदवारहरुलाई अर्न्तघात गरी असहयोग गरेको यथेष्ट आधारहरु प्राप्त गरी, जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्यद्वय मधु प्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नं २ काभ्रेका क्षेत्रीय सभापति महेश खरेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी गरेको कार्वाही, नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको बैठकले अनुमोदन गर्दै केन्द्रीय अनुशासन समितिको परिपत्र बमोजिम केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको छ,’ जिल्ला सभापति लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।