
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहिबार पुनः बस्दैछ ।
आज बस्ने बैठकमा स्थानीय चुनावको मितिबारे थप छलफल हुने बताइएको छ । यसअघि मङ्गलवारको बैठकमा पनि समयमै चुनाव गर्नेबारे छलफल भएको थियो । आगामी वैशाखमै चुनाव गर्न अनौपचारिक सहमति भए पनि पनि टुङ्गोमा भने पुग्न सकेको छैन । चुनाव मितिबारे थप छलफल गर्न आज फेरि सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बस्न लागेको हो ।
वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि आज या भोलिसम्म निर्णय गर्ने सरकारले तयारी गरेको छ । तर वैशाखमा संसदीय र कात्तिकमा स्थानीय चुनाव गर्नेबारे सत्ता गठबन्धनमा नयाँ बहस सुरु भएको छ ।
स्थानीय तह निर्वाचन ऐनमा सरकारले दुईभन्दा बढी चरणमा चुनाव गर्न सक्ने तर पहिलो चरणको मितिलाई चुनाव सम्पन्न भएको मानिने उल्लेख छ । यस्तै ऐनमा गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि अर्को चुनाव हुने उल्लेख छ ।
स्थानीय तह निर्वाचन ऐन अनुसार, जति चरणमा निर्वाचन भए पनि पहिलो चरणको चुनाव भएको ७ दिनपछि कार्यकाल सुरु भएको मानिने भएकाले पालिकाका पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ मा सकिने निर्वाचन आयोगको भनाइ छ ।