युनिकोड    राशिफल    एफएम रेडियाे                        

आईअफ नेपाल खोज

झापा । नेपालको सिमावर्ती शहर काँकडभिट्टाबाट मात्रै पाँच किलोमिटरको दुरीमा रहेको पाँच तारे होटल मेची क्राउन प्लाजामा संचालित क्यासिनो भेगासले कानुनबिपरित नेपाली नागरिकलाई क्यासिनो खेलाउने गरेको खुलेको छ । झापाका ब्यापारिक घरनाका ब्यक्तिहरुलाई क्यासिनो खेलाउने गरेको फुटेज आई अफ नेपालले फेला पारेपछी यो अवैध धन्दा सतहमा आएको हो । कानुनतः अन्तराष्टिय सिमाबाट ५ किलोमिटर दुरीभित्र क्यासिनो संचालन गर्न नपाईने भएपनि काँकडभिट्टाबाट करिब पाँच किलोमिटर भित्रकै दुरीमा मिलीभगतमा खोलिएको क्यासिनोमा खुलेआम नेपाली नगारिकले प्रवेश पाउँदा झापाका कयौँ व्यापारिक घरनाका मालिक टाट पल्टिने अवस्थामा पुगेका छन् ।

                                                                                                                 

क्यासिनो संचालककै सेटिङमा नेपाली नागरिकलाई दश हजार रुपँया प्रतिव्यक्ति असुल गरी नक्कली भारतीय आधारकार्ड बनाईदिएर क्यासिनोमा इन्ट्रि गराउने गरिएको छ । त्यसका लागि बिर्तामोडका तेजु वर्देबा खटिदै आएका छन् । त्यस्तै होटलका संचालक तथा क्यासिनो किङ्ग भनेर चिनीएका बलाराम सापकोटा (बले) र अन्य होटलका लगानीकर्ताकोे सोर्सफोर्सका आधारमा समेत कयाँै नेपालीले क्यासिनोमा प्रवेश पाउँदै आएका छन् । क्यासिनोमा झापाका धनाढ्य देखी मध्यम र निम्नवर्गिय परिवारका व्यक्तिहरु सहजै प्रवेश गर्ने र खेल्ने गरेका छन् ।

झापा बिर्तामोडका व्यापारी प्रदिप मित्तल, मदनगोपाल सुब्बा, मनोज शेरावाली लगायतका व्यक्तिहरु दैनिक क्यासिनो छिर्ने र खेल्ने गरेको खेलमै संलग्न एक ब्यक्तिले जानकारी दिएका छन् । भारतको एक समुहले क्यासिनो ब्यवस्थापनको जिम्मा लिएको भएपनि नेपाल भारत दुवैतिर नागरिकता भएका नेपाली मूलका व्यक्तिहरुको धेरै शेयर रहेको स्रोतको भनाई छ । बिर्तामोडका करण पौडेल नाम गरेका व्यक्तिले नै धुलाबारी, काकडभिट्टा, बिर्तामोड लगायतका नेपाली नागरिकलाई क्यासिनो पुर्याउन सहयोग गर्दै आएका छन् ।

नेपाली नागरिकले क्यासिनो खेलेबापत कुल लगानीको पाँच देखी छ प्रतिशत सम्म रकम क्यासिनो ब्यवस्थापनबाट दलालले बुझ्दै आएको खेलमा संलग्न स्रोतकोे भनाई छ । ‘करण त भित्र कोर टिमको मान्छे हो । उसैको व्यवस्थापनमा बिर्तामोडका जुवाडेलाई भेला गरेर क्यासिनो लाने हो’,–स्रोतले भन्यो–,‘जति हार्छन् त्यसको ५÷६ प्रतिशत कमिसन पाइहाल्छ । माडवाडी न अरू सबै व्यापारी छिर्छन् । दैनिक करोड–कडोर हार्छन् । यस्तै पारा हो भने अब एकडेढ वर्षमा बिर्तामोडका धेरै व्यापारी रोडमा पुग्छन् ।’ क्यासिनो छिर्नेमा झापामा रहेका र भारतको पनि दोहोरो नागरिकता भएका ब्यक्तिहरुको संख्या उल्लेख्य रहेको छ । यसरी नेपालीले हारेको पैसा भारतको बिभिन्न स्थानबाट आएका खेलाडीले जितेर लाने गरेका छन् । नेपालीको दैनिक करोडौँ रुपैयाँ रकम भारत बाहिरीरहँदा समेत नियमनकारी निकाय बेखबर जस्तै बनेको छ । यसले नियमनकारी निकायको समेत यो अवैध धन्दासँग सम्बन्ध रहेको अड्कल काटीदै आएको छ ।

यता, क्यासिनो संचालन नियमावली २०७० परिच्छेद २ को दफा ६ को उपदफा ङ मा प्रस्तावित क्यासिनो संचालनस्थल अन्तर्राष्ट्रिय सिमाना क्षेत्रबाट पाँच किलोमिटरको दुरी भित्र रहेमा संचालन गर्न नपाउने स्पष्ट ब्यवस्था गरेको भएपनि त्यसलाई लत्याउदै काकडभिट्टाबाट नजिकैको दुरिमा क्यासिनो संचालन गरिदै आएको छ । नियम १८ को दफा १ बमोजिम कुनै नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो संचालित स्थलभित्र प्रवेश गर्न नपाउने ब्यवस्था गरिएको छ । यस्तै नियम १४ मा नियम १८ बिपरित हुनेगरी भएमा क्यासिनोको इजाजतपत्र रद्धहुने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी क्यासिनोले संचालन गर्दै आएका भारतीय नम्बर प्लेटका सवारी साधनहरु भन्सार नै नतिरी रातभर झापाका सडकमा गुड्ने गरेको झापा मेचनिगरका एक स्थानीयले जानकारी दिएका छन् । भन्सार श्रोतका अनुसार क्यासिनोका भारतीय सवारीहरुले महिनामा एक दुई दिनको मात्रै भन्सार शुल्क तिर्ने गरेका छन् । प्रचलित कानुनको धज्जि उडाउदै संचालनरत यो क्यासिनोमा नियमनकारी निकायको ध्यान नपुग्दा नेपाली नागरिकको प्रवेश सहज भएको छ जसले गर्दा यहाँका नागरिक टाट पल्टन समय नलाग्ने सामाजिक अगुवाहरुको बुझाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९