युनिकोड    राशिफल    एफएम रेडियाे                        

नरेन्द्र ढकाल,
बिर्तामोड । नेपालमा दैनिक रेकर्ड तोड्दै गएको ओमिक्रोन संक्रमण झापामा पनि तीब्र रुपमा फैलिँदै गएको पाइएको छ ।
पछिल्लो समय झापामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको हो । पुस २४ गते ४६ जनामा संक्रमण देखिएकोमा माघ ८ गते शनिबारसम्ममा एक हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो १५ दिनमा तीब्र रुपमा फैलिएको झापा एक साताको अवधिमा ‘रेड जोन’मा परेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएपछि रेड जोन घोषणा गर्ने गरिएको छ । झापामा शनिबार मात्रै एक हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५७३ महिला र ६४६ जना पुरुष रहेका छन् । हाल २२ जना कोरोना संक्रमित अस्पताल भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा कोरोना संक्रमणको ग्राफ कसरी उकालो लाग्दै गरेको छ भने यो तथ्यांकबाट स्पष्ट हुन्छ । माघ ७ गते एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको छ भने माघ ६ गते ९६०, माघ ५ गते ७१७, माघ ४ गते ५६६, माघ ३ गते ४१८, माघ २ गते २८२ र माघ १ गते १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

हालसम्म झापामा ६५९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । ओमिक्रोन संक्रमण तीब्र रुपमा फैलिए पनि अधिकांश संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । झापाका कूल संक्रमित मध्ये १.८० प्रतिशत संक्रमित मात्रै अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच संक्रमण बढ्दै गएपछि उच्च सर्तकता अपनाउन थालिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी छविलाला रिजालले सबै क्षेत्रमा सर्तकता अपनाउन सर्कुलर जारी गरेको बताए । उनले विभिन्न ३० बुँदे आदेश जारी गरेर सबै क्षेत्रमा सतर्कता अपनाउनका साथै मास्क अनिवार्य गरिएको जानकारी दिए ।
भीडभाड हुने स्थानमा अनावश्यक भीड नगर्न आग्रह गर्दै सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ छ । आवश्यक काम बाहेक हिँड्डुल नगर्न आग्रह गर्दै सबैले सतर्कता अपनाउनुपर्ने बताए ।

ओमिक्रोन संक्रमणमा लापरबाही नगर्न चिकित्सकले आग्रह गरेका छन् । डाक्टर रक्षा गौतमले ओमिक्रोन भेरिएन्टलाई सामान्य रुपमा नलिन आग्रह गरिन् । उनले चिसोबाट बच्न र स्वाश्प्रश्वासमा समस्या भएमा तत्काल अस्पताल जान आग्रह गरिन् ।

यसैबीच झापामा हालसम्म चार लाख ७५ हजार १५२ जनाले कोभिडबिरुद्धको पहिलो चरणको खोप लगाएका छन् । दुवै खोप चार लाख १३ हजार ६५१ जनाले लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । झापामा बुस्टर खोप पनि लगाउन शुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै आगामी केही साता झन् उच्च रुपमा बढ्ने देखिएको चिकित्सकहरुले बताएका छन् । अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढे पनि ओमिक्रोन संक्रामक रुपमा फैलिँदा अस्पतालमा जनशक्तिको अभाव भएको बताइएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले दोस्रो लहरमा धेरै व्यक्ति अस्पताल भर्ना भएर उपचार प्रणाली प्रभावित बनेको र तेस्रो लहरमा धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा हुन जनशक्ति अभाव देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९