
झापा । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा भएका सवारी दुर्घटनामा धेरै नागरिकले ज्यान गुमाएसँगै ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई गाउँ केन्द्रीत गरेको छ ।
‘हर पहर गाउँ र नगर, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै जिल्लाका ग्रामीण सडकमा सवारी चेकजाँच शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाँईले बताए । यो महिना मात्रै सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएसँगै माघ २ गतेबाट गाउँ केन्द्रीत सवारी चेकजाँच अभियान शुरु गरेको हो ।
निशेष चापागाई – प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा ।
ट्राफिक प्रहरीले अहिले हप्तामा दुईपटक गाउँ–गाउँमा रहेका भित्री र शाखा सडकमा सवारी चेक जाँच शुरु गरेको छ– जिल्ला ट्राफिक प्रहरी प्रमुख चापागाँईले भने । जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतमा रहेको १८ वटा युनिटले हप्ताको दुईपटक ग्रामीण सडकमा छड्के चेकजाँच गर्ने गरेको र पाँच दिनमा सवारी नियम उल्लङ्घन गर्दै हिँड्ने एक हजार तीन सय ११ वटा सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक चापागाँईले बताए ।
सवारी चालकलाई सडकमै प्रशिक्षण प्रदान गर्दै ट्राफिक प्रहरी ।
सवारी नियम उल्लङ्घन गर्दै हिँड्ने सवारी र चालकलाई कारवाही गर्दा आठ लाख ८२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सवारी नियम उल्लङ्घन गर्दै हिँड्ने एक हजार ६ सय ५ जना चालक तथा सहचालकलाई ‘स्पट’ मै सवारी नियम सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको छ । सवारी चेकजाँचका क्रममा शिक्षित मानिसले नै ट्राफिक नियम उल्लङ्घन गर्ने÷गरेको पाइएको प्रहरी निरीक्षक चापागाँईले बताए । उनले भने – अधिकांश मोटरसाइकल चालकले हेलमेट लगाउँदैनन् । हेलमेट नलगाउने सवारी चालक शिक्षित नै हुन्छन् । त्यस्तै ग्रामीण क्षेत्रमा गुड्ने अधिकांश सवारी साधन तीव्र गतिमा हुन्छन्, जसका कारण दुर्घटना हुनासाथ उनीहरुको मृत्यु भएको हामीले पाएका छौं । ‘चेकजाँचका क्रममा हेलमेट नलगाउने अधिकांशले हामी यहींको लोकल हो भन्ने गरेका छन्’ प्रहरी निरीक्षक चापागाँईले भने– नजिकै हिँडेकाले हेलमेट नलगाएको हो, लाइसेन्स बोक्न बिर्सिएँ आदि वहाना बनाउने गरेका छन् ।
ट्याक्टरमा रिफ्लेक्टिभ बस्तु टाँस गर्दै ट्राफिक प्रहरी ।
स्थानीय सरकार सञ्चालनको पाँच वर्षमा सडक निर्माणलाई प्राथमिकता दिएसँगै गाउँका भित्री सडक समेत फराकिला र अधिकांश सडक कालोपत्रे भएकाले सवारी तीव्र गतिमा गुड्ने गरेको पाएपछि गाउँ–गाउँमा ट्राफिक चेकजाँच शुरु गरिएको ट्राफिक प्रहरीको भनाइ छ । ग्रामीण क्षेत्रमा यसैपनि ट्राफिक प्रहरीको उपस्थिति हुँदैन जसका कारण ग्रामीण क्षेत्रमा सवारी निमय उल्लङ्घन गर्नेको संख्या धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ । केही दिन यता ग्रामीण क्षेत्रमा गरिएको सवारी चेकजाँचलाई मात्रै आधार मान्ने हो भने पनि गाउँमा सवारी नियम उल्लङ्घन गर्ने धेरै मानिस कारवाहीमा परेका छन् । चालू आर्थिक वर्षको ६ महिना दश दिन (साउन १देखि माघ १० गते) सम्ममा झापामा २३ हजार दुई सय सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेका छन् ।
उनीहरुलाई ट्राफिक प्रहरीले कारवाही गर्दा एक करोड ५६ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो अविधिमा जिल्लामा भएका सवारी दुर्घटनामा परी ६७ जनाले ज्यान गुमाएका छन् । तीन सय १३ वटा सवारी दुर्घटनामा ४ सय ५५ वटा सवारीमा क्षति पुगेको छ । दुर्घटनामा ४ सय ९७ जना घाइते छन् । आर्थिक बर्ष ०७७÷०७८मा जिल्लामा भएका ६ सय ५७ वटा दुर्घटनामा परी ९३ जनाले ज्यान गुमाएका थिए । गत बर्ष सवारी नियम उल्लंघन गर्ने सवारी र सवारी चालकलाई कार्वाही गर्दा तीन करोड ७९ लाख ५३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो ।
सवारी नियम उल्लंघन गरे ‘स्पट’ मै कार्वाहीसंगै प्रशिक्षण
ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने जो कोहीलाई पछिल्लो समय स्पटमै कार्वाही गर्दै प्रशिक्षण समेत दिन शुरु गरेको छ । चालकसँग दुई मिनेट, यात्रुसँग एक मिनेट जस्ता कार्यक्रम समेत सञ्चालन गर्दै सवारी चालक–सहचालक र यात्रुलाई प्रशिक्षण दिन शुरु गरिएको प्रहरी निरीक्षक चापागाँईले बताए ।
ट्राफिक प्रहरीले अहिले प्रेसर हर्न कम गर्ने, अभियान तीब्र गति रोक्नलाई ¥याडर गनको प्रयोग, चालक तथा सहचालकको आँखासहितको स्वास्थ्य जाँच, विद्यालय– विद्यालयमा प्रशिक्षण, जेब्रा क्रसिङ निर्माण, जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्ने शिक्षा, साइकल तथा व्याकलाइट नहुने सवारीलाई रिफ्लेक्टिभ बस्तु टाँस समेत गरिरहेको छ । अति दुर्घटना हुने ठाउँमा रिफ्लेक्टिभ होर्डिङ बोर्ड समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ । धेरै दुर्घटना भइरहने स्थानमा ६५ वटा रिफ्लेक्टिभ होर्डिङ बोर्ड राखिएको प्रहरी निरीक्षक चापागाँईले बताए ।
मुख्य सडकमा परेका खाल्डाखुल्डी पुर्ने कामदेखि कोभिडको नयाँ भेरियन्ट शुरु भएसँगै स्वास्थ्य मापदण्ड पालना गराउने अभियानमा समेत ट्राफिक प्रहरी जुटेको बताइएको छ । ट्राफिक प्रहरीले अहिले मास्क खोई ? अभियान समेत सञ्चालन गरिरहेको बताइएको छ ।