
मेचीनगर । बाहुनडाँगी बजारमा होटल सञ्चालन गर्दै आएका सामाजिक व्यक्तित्व रमेश थापा र उनका भाइ सूर्यबहादुर थापाको दुर्घटनामा मृत्यु भएको छ । इलामबाट झापा आउँदै गरेको पिकअप जिप आज विहान मेची राजमार्गको रोङ–४ पहिरो भन्ने स्थानमा दुर्घटना हुँदा दुबैको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।
रमेश थापा ५५ वर्षका र उनका भाइ सूर्य ४० वर्षका थिए । इलाम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगा थापाका अनुसार उनीहरु सवार प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई आज बिहान सडकदेखि करिव पाँच सय मिटर तल झरेको थियो ।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइराला गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि झापाको वीएन्डसी अस्पताल भर्ना गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मेचीनगर–४ का वडाध्यक्ष नविन बरालले वडाबासी सामाजिक व्यक्तित्व थापा दाजुभाइको असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जलि र दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।स्व. रमेश थापाकी पत्नी रुक्मिनी थापा, दुई छोरा राजेश थापा र राजेन्द्र थापा रहेका छन् ।