
झापा । नौ दिन अघि पूर्वीनाका काँकडभिट्टा नजिकै बरामद भएको विष्फोटक पदार्थ नेपाल भित्र्याउने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले म्याग्दीका चिरन रोक्कालाई म्याग्दीबाट पक्राउ गरि ल्याइएको छ ।जिल्ला प्रहरी स्रोतका अनुसार उनले पश्चिममा ढुगां उत्खन्नका लागि विष्फोटक पदार्थ लगेको बयान दिएका छन् ।
रोक्काले यसैगरी यसअघि ४ पटक विष्फोटक पदार्थ भित्र्याइ सकेकोसमेत बयान दिएका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार रोक्का भारतको कोइला खानीमा काम गर्ने मजदुर हुन् ।
“घर आउँदा जाँदा अलिअलि अतिरिक्त कमाई हुन्छ भनेर उताबाट चोरेर पनि ल्याउँदा रहेछन्” अनुसन्धानमा संलग्न ती अधिकृत भन्छन्, “पहिले चर्चा भएजस्तो यो घटनामा भूमिगत समुहको संलग्नता देखिएन ।” यसअघि १८ माघमा मोचीनगर नगरपालिका –७ गैरीगाउँमा सशस्त्र प्रहरी बलको टोलीले ८० वटा डेटोनेटर र ९१ वटा नेपोलाइट एक्सप्लोसिभ बरामद गरेको थियो ।